७५ वर्षको उमेरमा नाना पाटेकरको निधन
गोवास्थित निवासमै आएको थियो कार्डियाक अरेस्ट
काठमाडौं : भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ ।
गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान कार्डियाक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो तर, चिकित्सकको प्रयास सफल हुन सकेन ।
पाटेकरलाई गोवाको डोना पाउलास्थित निवासमा अचेत अवस्थामा फेला पारिएको थियो । त्यसपछि उनलाई मणिपाल अस्पताल लगिएको थियो ।
अस्पतालका चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरसहित पुनर्जीवनको प्रयास गरे पनि उनलाई बचाउन नसकिएको जनाएका छन् । उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो ।
पाटेकरका छोरा मल्हार पाटेकरले पनि आफ्ना बुबाको निधन भएको पुष्टि गरेका छन् । घटनापछि उनको शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेज पठाइएको छ ।
घटनालाई चिकित्सकीय तथा कानुनी प्रक्रियाअन्तर्गत दर्ता गरिएको अस्पतालले जनाएको छ ।
पाटेकरको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राजनीतिक तथा चलचित्र क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । मोदीले पाटेकरले भारतीय चलचित्रमा पुस्तौँसम्म सम्झिइने पात्रहरू दिएको बताएका छन् ।
सन् १९७८ मा ‘गमन’ बाट हिन्दी चलचित्रमा प्रवेश गरेका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा चार दशकभन्दा लामो समय काम गरेका थिए ।
‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘ट्याक्सी नम्बर ९२११’ र ‘वेलकम’ लगायत चलचित्रमा उनका भूमिका चर्चित छन् ।
विशेषगरी ‘वेलकम’ मा उदय शेट्टीको भूमिकाले उनलाई नयाँ पुस्तामाझ पनि लोकप्रिय बनाएको थियो । उनले अभिनयसँगै निर्देशन र रङ्गमञ्चमा समेत काम गरेका थिए ।
पाटेकरले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए भने भारत सरकारले सन् २०१३ मा उनलाई पद्मश्री प्रदान गरेको थियो ।
पछिल्लो समय पनि उनी चलचित्र क्षेत्रमा सक्रिय थिए । ‘हाउसफुल ५’ लगायतका चलचित्रमा देखिएका पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
.gif)

.png)


