नेपालले गुमायो हिमालका नायक, विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको ब्रोड पिक हिमपहिरोमा निधन
काठमाडौं : विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधन भएको छ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो। बिहीबारदेखि सम्पर्कविहीन रहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो।
‘हामी अत्यन्त दुःखका साथ जानकारी गराउँछौं कि निर्मल ‘निम्स दाइ’ पुर्जाले ब्रोड पिकमा आएको हिमपहिरोमा परी ज्यान गुमाउनुभएको छ। अन्य आरोहीहरू पनि जीवित अवस्थामा फेला पर्न सकेनन्,’ एलिट एक्सपेडले जारी गरेको वक्तव्यमा उल्लेख छ। पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली बिहीबार बिहान करिब १० बजे ब्रोड पिकमा आएको हिमपहिरोमा परेको थियो। टोलीमा ६ जना नेपाली र चार जना विदेशी आरोही सहभागी थिए।
आरोहणका क्रममा करिब ६ हजार ७ सय मिटर उचाइमा पुगेपछि हिमपहिरो खसेको थियो। त्यसपछि बेपत्ता भएका आरोहीहरूको खोजी शुक्रबार अपराह्नसम्म जारी राखिएको थियो। खोजीका क्रममा शुक्रबार तीन जनाको शव फेला परेको थियो। शवलाई आधार शिविरमा ल्याएर हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको थियो।
उद्धार तथा खोजी कार्यमा पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोनलगायतका प्रविधि प्रयोग गरिएको थियो। काराकोरम पर्वत शृंखलाकै के–टु क्षेत्रमा रहेका आरोहीहरू पनि उद्धार अभियानमा सहभागी भएका थिए। पुर्जाका निकट मित्र तथा प्रतिनिधि सभा सदस्य मिङ्मा डेविड शेर्पा पनि अनुभवी पाइलटसहित शुक्रबार नै ब्रोड पिक क्षेत्रमा पुगेका थिए।
शनिबार बिहान ७/८ बजेदेखि पुनः सुरु गरिएको खोजी अभियानपछि अपराह्न पुर्जासहित अन्य आरोहीहरूको निधन भएको पुष्टि भएको हो।पुर्जाको नेतृत्वमा रहेको टोलीमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा सहभागी थिए।
त्यस्तै टोलीमा ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस् सहभागी थिए। निर्मल पुर्जा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने नेपाली आरोही हुन्। उनले आफ्नो साहस, गति र आरोहण क्षमताका कारण विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई नयाँ पहिचान दिलाएका थिए।
.gif)

.png)

