चिसो बढेसँगै रूघाखोकीको जोखिम : संक्रमणबाट कसरी जोगिने ?
काठमाडौं : मौसम परिवर्तनसँगै चिसो बढेपछि रूघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिम बढेको छ।
यस्तो संक्रमणबाट जोगिन औषधि सेवनमा मात्र नभई दैनिक व्यवहार र व्यक्तिगत स्वच्छतामा समेत विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।
रूघाखोकी गराउने प्रमुख भाइरसमा राइनोभाइरस पर्छ। यसबाहेक कोरोनाभाइरस, एडेनोभाइरस र रेस्पिरेटरी सिन्सिटियल भाइरस (आरएसभी) लगायत दुई सयभन्दा बढी प्रकारका भाइरसले रूघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण गराउन सक्ने चिकित्सक बताउँछन्।
संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने सूक्ष्म थोपामार्फत भाइरस स्वस्थ व्यक्तिमा सर्न सक्छ।
संक्रमित व्यक्तिले छोएका ढोकाका ह्यान्डल, मोबाइल, किबोर्ड, भाँडाकुँडालगायत वस्तु छोएपछि हातले आँखा, नाक वा मुख छुँदा पनि संक्रमणको जोखिम हुन्छ।
चिसो मौसम र मौसम परिवर्तनका बेला मानिसहरू बन्द तथा भीडभाडयुक्त स्थानमा बढी समय बिताउने भएकाले भाइरस फैलिने सम्भावना बढ्ने गर्छ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन सक्ने चिकित्सकको भनाइ छ।
हात सफा राख्नेदेखि मास्क प्रयोगसम्म
रूघाखोकीबाट बच्न साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने वा आवश्यकताअनुसार ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।
अनावश्यक रूपमा आँखा, नाक र मुखमा हात नलैजाने तथा संक्रमित व्यक्तिबाट सम्भव भएसम्म दूरी कायम राख्नु पनि महत्वपूर्ण मानिन्छ।
भीडभाड तथा सार्वजनिक स्थानमा जाँदा मास्क प्रयोग गर्न र खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा टिस्युले नाक–मुख छोप्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
प्रयोग गरिएको टिस्यु तत्काल डस्टबिनमा फालेर हात सफा गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
घर तथा कार्यालयमा धेरै प्रयोग हुने मोबाइल, ढोकाका ह्यान्डल, किबोर्डलगायत वस्तु नियमित रूपमा सफा गर्दा संक्रमणको जोखिम घटाउन सकिन्छ।
रूघाखोकी लागेपछि के गर्ने ?
रूघाखोकी लागेका बेला पर्याप्त तरल पदार्थ सेवन गर्न, मनतातो पानी तथा झोलिलो खानेकुरा खान र शरीरलाई हाइड्रेट राख्न चिकित्सकको सुझाव छ।
पौष्टिक आहार, पर्याप्त आराम र नियमित निद्राले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग पुर्याउने उनीहरूको भनाइ छ।
सामान्य रूघाखोकीका लक्षण देखिए पनि अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, अवस्था बिग्रँदै जाने वा लामो समयसम्म लक्षण कायम रहने भए स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ।
.gif)

.png)


