बाढीपहिरोको जोखिमले सडक यातायात प्रभावित, केही सडक पूर्ण अवरुद्ध
काठमाडौं : बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ। केही सडक पूर्णरूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा बाढी–पहिरोको असर परेको हो। कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
बागमती प्रदेशमा काभ्रेको कुशकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिमका कारण सवारी सञ्चालन प्रभावित भएको छ। रसुवामा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ।
विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्डसमेत पूर्णरूपमा अवरुद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन भइरहेको छ। गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ खत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।
यस्तै, कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खारेखेत क्षेत्रमा कर्णाली करिडोर पनि पूर्णरूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ। सडक विभागले अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात व्यवस्थापनको काम भइरहेको जनाएको छ। सम्भावित बाढी तथा पहिरोको जोखिम रहेका सडकखण्डमा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।

.gif)

.png)

