असिना र बाढीले रुकुम पश्चिममा क्षति : घरदेखि धानबालीसम्म प्रभावित


२०८३ असोज २० मंगलबार ०९:०६ बजे

रुकुम (पश्चिम) : सानीभेरी गाउँपालिका–१० अर्मामा अविरल वर्षासँगै आएको बाढीले एक घर बगाएको छ भने दुई घर ढलेका छन्।

वर्षा, असिना र हावाहुरीका कारण पशुचौपाया, धानबाली तथा खानेपानीका संरचनामा समेत क्षति पुगेको छ।

प्रशासनमा प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीले एउटा घर पूर्ण रूपमा बगाएको र दुईवटा घरमा क्षति पुगेर ढलेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए।

बाढी र असिनाका कारण १६ वटा पशुचौपाया मरेका छन्। जसमा सात बाख्रा, तीन खसी, दुई गोरु र चार भैँसी रहेका छन्। त्यस्तै खानेपानीका दुईवटा ट्यांकीमा पनि क्षति पुगेको प्रजिअ गौतमले जानकारी दिए।

असिनाले स्थानीयको धानबालीमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढी, असिना र हावाहुरीबाट भएको कुल क्षतिको विवरण भने संकलन भइरहेको प्रशासनले जनाएको छ।

खहरे एक्कासि उर्लिएपछि जंगलतिर भागे स्थानीय

स्थानीयका अनुसार करिब तीन घण्टासम्म लगातार वर्षा हुनुका साथै असिना र हावाहुरी चलेपछि खहरे खोला अचानक उर्लिएको थियो।

बाढी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन घर छाडेर जंगलतर्फ भागेका थिए। 

भूकम्पका कारण यसअघि नै जीर्ण बनेका घर तथा अन्य संरचना पनि वर्षा र बाढीका कारण थप प्रभावित भएका छन्।

घटनामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ। क्षतिको थप विवरण संकलन तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७