पार्टी नयाँ-पुरानो दर्ताले होइन, सामर्थ्यले छुट्टिन्छ

बिपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुन्छ, मलाई थाहा छैन। तर आत्मा यहाँ छ।


२०८३ असोज १८ आइतबार २२:०६ बजे

आज धेरै लामो समयपछि खुलामञ्च खुला भएको छ। खुलामञ्च आफैँ उकुसमुकुसमा थियो। किनकि यो अतिक्रमित थियो। करिब १० वर्षपछि खुलामञ्चमा आज एउटा राजनीतिक सभा भइरहेको छ।

खुलामञ्च काठमाडौंको बीचमा रहेको एउटा खुला चउर मात्र होइन, यो नेपालको राजनीतिक स्मृतिको एउटा सार्वजनिक अभिलेख हो। यो खुलामञ्चमा कयौँ कार्यक्रमहरू भएका छन्। कयौँ पटक नागरिकहरू यहाँ प्रश्न लिएर आएका छन्। सपना लिएर आएका छन्। असहमतिहरू लिएर आएका छन्। यहीँ आएर सहमति व्यक्त पनि गरेका छन्।

कहिले यहाँ राजनीतिक दलले मानिसहरू बोलाएर ल्याएको छ। कहिले नागरिकहरूले राजनीतिक दललाई आउन बाध्य बनाएका छन्। यो खुलामञ्चमा हामीले कहिले कुनै दल ठूलो भएर ठूलो कुरा गरेको सुनेका छौँ। कहिले त्यही दल फेरि सानो भएर सानो कुरा गरेको कद देखेका पनि छौँ।

यो खुलामञ्चले हामीलाई धेरै कुरा बताएको छ।

यही खुलामञ्च हो, जहाँ २०३६ सालमा बिपी कोइरालाले उभिएर बोल्नुभयो र भन्नुभयो, 'जनताको अधिकारबिनाको राष्ट्रियताको विषय केवल खोक्रो नारा मात्रै हुन्छ।' जहाँ २०४७ साल वैशाख २ गते गणेशमानजी आएर भन्नुभयो, 'हामीले शक्ति पाएका छौँ, सत्ता पाएका छौँ। तर जनताले दिएको अधिकारको सम्मान गर्न सकेनौँ भने जनताले नै हामीलाई डाँडा कटाइदिन्छन्।'

यही खुलामञ्च हो, जहाँबाट सात दलको तर्फबाट २०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको सन्देश सुनाइयो र भनियो, 'यो कुनै व्यक्तिविरुद्धको जित होइन। यो नेपाली जनताको एकताको जित हो। निरंकुशताविरुद्धको जित हो।'

यही खुलामञ्च हो, जहाँबाट २०७० सालमा सुशील कोइराला र शेरबहादुर देउवाले संयुक्त रूपमा अपिल गर्दै भन्नुभयो, 'हामी माओवादीलाई पनि सँगसँगै लिएर जान चाहन्छौँ।'

यो खुलामञ्चमा नेपाली कांग्रेसका यति धेरै स्मृतिहरू छन्। यो खुलामञ्चमा कांग्रेसले ठूला–ठूला संकल्प गरेको छ। त्यो संकल्पलाई पूरा गरेको छ।

आज हामी १५औँ महाधिवेशनका लागि यहाँ जम्मा भएका छौँ। यो केवल एउटा महाधिवेशनको नेतृत्व चयन गर्ने एउटा इभेन्ट मात्र होइन। खुलामञ्चमा आइसकेपछि बिपी कोइरालाको यो पार्टीले केही सन्देश लिनुपर्ने छ, केही सन्देश दिनुपर्ने छ, केही संकल्पहरू गर्नुपर्ने छ।

खुलामञ्चको एउटा विशेषता छ। फरक मानिसलाई यसले एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ। नेता जनताको अगाडि आएर बोल्छ र जनताले नेतालाई अगाडि राखेर आफ्नो प्रतिक्रिया व्यक्त गर्छ।

खुलामञ्चमा सबै एक ठाउँमा जम्मा हुन्छन्। यसको अर्थ खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन। तर मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च। नेपाली कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले लिन खोजेको, दिन खोजेको सन्देश र गर्न खोजेको संकल्प यो हो।

आज नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा चाहिएको छ। पहिलो खुलामञ्च कहाँ चाहिएको छ? पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ।

संसद खुला छैन। संसद बन्द छ। किनकि जुन संसदले, जहाँका सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद खुला भएको हुँदैन।

संसदभित्र खुलामञ्च चाहिएको छ। समुदायका बीचमा खुलामञ्च चाहिएको छ। जहाँ पहाडका मानिसले मधेसको बारेमा कुरा गर्ने होइन, जहाँ पहाडका मानिसले मधेससँग संवाद गरून्। एउटा जातले अर्को जातको, एउटा धर्मले अर्को धर्मको बारेमा होइन, एउटा जातले अर्को जातसँग, एउटा धर्मले अर्को धर्मसँग संवाद गरोस्। अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्तासँग संवाद गरोस्। त्यो खुलामञ्च चाहिएको छ।

राज्य र नागरिकका बीचमा खुलामञ्च चाहिएको छ। त्यस्तै खुलामञ्च डिजिटल प्रणाली, त्यो प्लेटफर्ममा पनि चाहिएको छ। जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्। त्यहाँ पनि खुलामञ्च चाहिएको छ।

खुलामञ्च पार्टीभित्र पनि चाहिएको छ। आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुलामञ्च पार्टीभित्र पनि चाहिएको छ।

सिंगो नेपाललाई खुलामञ्च चाहिएको छ। डरबाट बाहिर, त्रासबाट बाहिर र बेचैनीबाट बाहिर निकालेर यसलाई खुला बनाउनुपर्ने छ। त्यही सन्देश र त्यही संकल्प लिएर आज हामी १५औँ महाधिवेशन सुरु गर्दै छौँ। यत्रो अधिवेशन सुरु गर्दै गर्दा नेपाली कांग्रेसले आफ्नो इतिहासलाई स्मरण नगरीकन अधिवेशन प्रारम्भ गर्न सक्छ? सक्दैन।

हाम्रो इतिहास गौरवशाली छ। राणा शासनविरुद्धको लडाइँमा, हिंसाविरुद्धको लडाइँमा, न्यायको पक्षमा, शान्तिको पक्षमा, जनअधिकारको पक्षमा इतिहासका जुनसुकै पाना पल्टाए पनि नेपाली कांग्रेसलाई नपढीकन, नेपाली कांग्रेसलाई नसुनीकन नेपालको इतिहास पढ्छु भनेर कसैले सक्दैन।

इतिहासमा कांग्रेसलाई त्यो गौरव दिलाउने ती प्रत्येक प्रातःस्मरणीय नेताहरूलाई म नमन गर्न चाहन्छु। कांग्रेसका नाममा धेरैको घरपरिवार उजाड भएको छ। धेरै मानिसहरू काटिएका छन्, मारिएका छन्। ती प्रत्येकलाई म सम्झन चाहन्छु। ती प्रत्येकलाई म कोटी कोटी नमन गर्न चाहन्छु।

इतिहास गौरवशाली छ। तर इतिहासले हामीलाई के दिन्छ?

इतिहासले हामीलाई शक्ति दिँदैन। इतिहासले हामीलाई शिक्षा दिन्छ। इतिहासले दिने शिक्षालाई वर्तमानको कर्ममा लग्यौँ, त्यसबाट प्रेरित भएर आफ्नो कर्मलाई चलायौँ भने बल्ल त्यसले शक्ति दिन्छ।

इतिहास पढेर, इतिहास भट्याएर त्यसले शक्ति दिने होइन। हाम्रो इतिहासले हामीलाई दिएको शिक्षा के हो? हामी नेपाली कांग्रेसका साथीहरूले अधिवेशनमा छलफल गर्नुपर्ने छ, चिन्तन गर्नुपर्ने छ।

२००७ सालमा यो गर्‍यौँ, ०४६ सालमा यो गर्‍यौँ, ०६२/६३ मा यो गर्‍यौँ, ०७० मा यो गर्‍यौँ—फ्याक्ट कसैले इन्कार गर्न सक्दैन। तर सिक्ने कुरा के हो?

ती प्रत्येक इभेन्टलाई एक पटक यसो हामीले गहिरिएर हेर्‍यौँ भने, नेपाली कांग्रेसले 'यो गर्‍यो, यो गर्‍यो, यो गर्‍यो' भनेको बेला तत्कालीन समयको सबभन्दा ठूलो प्रश्न जे थियो, त्यो प्रश्नको उत्तर कांग्रेसले लिएर आयो। त्यसैले कांग्रेस बन्यो, कांग्रेस टिक्यो।

सात सालको बेला प्रश्न के थियो? राणाशाहीबाट मुक्ति कहिले पाउँछौँ?

०४६ सालमा प्रश्न के थियो? पञ्चायतको कालो दिनबाट मुक्ति कहिले पाउँछौँ?

०६२/६३ मा प्रश्न के थियो? हिंसाबाट मुक्ति कहिले पाउँछौँ?

०७० मा प्रश्न के थियो? संविधान बन्छ कि बन्दैन?

त्यो प्रश्नको उत्तर कांग्रेससँग थियो। त्यसैले कांग्रेस टिक्यो।

आजको प्रश्न के हो?

हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन। आजको प्रश्नको उत्तर दिनुपर्छ।

आजको प्रश्नको उत्तर के हो? त्यसको लागि पहिला आजको प्रश्न के हो? त्यसको लागि आजको प्रश्न सोध्ने मान्छे को हो?

तपाईं र म कांग्रेसहरू एउटा कोठामा बसेर आफैँ प्रश्न, आफैँ उत्तर बनाएर हुँदैन। हामी कांग्रेसको कोठाभन्दा बाहिर निस्कनुपर्छ।

कांग्रेस नभएको एउटा १८ वर्षको युवकलाई भेटेर एकपटक सोधौँ त। उसले सोध्ने प्रश्न के छ?

सात सालमा थिएन ऊ। ०४६ साल थिएन ऊ। ०६२/६३ मा थिएन ऊ। त्यो इतिहास हो। इतिहासलाई उसले माया गर्छ। तर इतिहास त इतिहासै हो नि। उसले आजको प्रश्न गर्छ।

उसको आजको प्रश्न के छ?

उसको आजको प्रश्न छ — मैले राम्रो शिक्षा पाउँछु कि पाउँदिनँ?

त्यसपछि उसको प्रश्न छ — मैले शिक्षा पाइसकेपछि त्यो शिक्षाको आधारमा मैले आफ्नो पेट पाल्न सक्ने राम्रो काम नेपालमा पाउँछु कि पाउँदिनँ?

उसको प्रश्न छ — मसँग योग्यताको सर्टिफिकेट छ भने त्यो सर्टिफिकेट लिएर कुनै ठाउँमा काम माग्न जाँदै गर्दा 'तिम्रो बाको नाम के हो?' वा 'तिमीले कुनै नेतालाई चिन्छौ कि चिन्दैनौ?' भनेर मलाई कसैले सोध्छ कि सोध्दैन?

कतारमा गएको, मलेसियामा गएको एउटा भाइको, एउटा इसराइलमा गएकी बहिनीको प्रश्न छ — नेपालमा काम नपाएकाले म आएँ, दुःख गरेर कमाएको छु। मेरो बा–आमा, भाइबहिनीलाई पाल्न नेपाल पैसा पठाएको छु। मेरो यसमा केही पनि छैन। तर मैले पठाएको पैसा, सानो घर बनाउने इच्छा छ। छोराछोरीलाई राम्रो स्कुलमा पढाउने इच्छा छ।

तर घरको कुनै मान्छेलाई कुनै एउटा कडा रोग लाग्यो भने मैले वर्षौं लगाएर कमाएर पठाएको पैसाले बनाएको घर मैले बैंकमा राखेर म कंगाल हुनुपर्छ कि पर्दैन? उसको प्रश्न छ।

प्रश्न छ किसानको। यत्रो दुःख गरेर किसानी गरेको छु। मेरो उत्पादनले बजार पाउँछ कि पाउँदैन?

सुकुम्बासीको प्रश्न छ — डोजरले घर भत्कायो, मेरो घर बन्छ कि बन्दैन?

उद्यमीको प्रश्न छ — म उद्यम गर्छु, राज्यले मेरो कुरा सुन्छ कि थुन्छ?

मात्रै उसको प्रश्न छ।

दलित, अल्पसंख्यक, मुस्लिम, थारू — सबैको प्रश्न छ।

महिलाको प्रश्न छ — तिमीले मलाई संविधानमा लेखेर अधिकार दियौ, तिमीले दिएको अधिकार मैले वास्तवमा कहिले पाउँछु कि पाउँदिनँ?

बाको प्रश्न छ — पढ्न गएको मेरो छोरी निर्मलाजस्तो हुन्छ कि हुँदैन?

दाइको प्रश्न छ — मोटरसाइकल लिएर गएको मेरो भाइ फेरि गणेश नेपाली बन्छ कि बन्दैन?

सबैतिर प्रश्नहरू छन्।

अनि यी प्रश्नहरूको उत्तर हामीसँग छ कि छैन?

यी प्रश्नहरूको उत्तर दिन सक्ने ताकत हामीसँग छ कि छैन?

यी प्रश्नहरू थुप्रै छन्, थुप्रिएका छन्। यी प्रश्नहरू एक रातमा बनेका होइनन्। अहिलेको सरकार आएपछि सिर्जना भएका प्रश्न होइनन्। यी अगाडिका प्रश्नहरू हुन्।

२०६२/६३ सालको आन्दोलनको सफलतापछि ०७२ सालसम्मको १० वर्ष अवधि माया गरेका हुन् नेपाली जनताले नेपाली कांग्रेसलाई, नेपालका पुराना पार्टीहरूलाई। दुःख त्यो बेला पनि थियो। तर एउटा मिसन थियो— शान्ति र संविधान।

शान्ति र संविधानको मिसन पूरा भइसकेपछि नागरिकले अपेक्षा गरेका थिए— अब यी दलहरूले संविधानमा गरेका वाचाहरू पूरा गर्छन्।

परिणाम आउन समय लाग्थ्यो, नागरिकले नबुझेका होइनन्। उनीहरूले परिणाम खोजेका पनि होइनन्। उनीहरूले प्रयत्न ठिक ढंगले गर्‍यो कि गरेन भनेर हेरेका हुन्।

तर उनीहरूले हेर्दा खेरि त्यो प्रयत्न देखियो कि देखेनन्? दुःखका साथ भन्नुपर्छ, देखेनन्।

के देखे?

हामीलाई दौडिरहेको देखे। केका लागि दौडिएको? हामी प्रधानमन्त्रीको कुर्सीका लागि दौडिरहेको देखे।

हामीलाई मिलेको देखे। कोसँग मिलेको? अस्तिसम्म झगडा गर्नेहरूसँग मिलेको। किन मिलेको? त्यही प्रधानमन्त्री बन्न मिलेको।

अनि अहिले मिलिरहेकोसँग भोलिपल्ट बिहान उठ्दै गर्दा झगडा गरेको। झगडा किन गरेको? त्यही प्रधानमन्त्रीका लागि झगडा गरेको।

अनि त्यो प्रधानमन्त्री किन हुन खोजेको? किनकि फेरि अर्को एक पटक प्रधानमन्त्री हुन मन लागेकाले प्रधानमन्त्री हुन खोजेको।

यस्तै यस्तै भयो। मानौँ नमानौँ, यस्तै यस्तै भयो। म्युजिकल चियरजस्तो भयो।

नागरिकका आफ्ना आकांक्षाहरू थिए। जायज आकांक्षाहरू थिए। हामी काम गर्न चुक्यौँ। मान्नुपर्छ यसलाई।

त्यसले नेपालमा दुईटा प्रवृत्तिहरू देखियो।

एउटा एन्टी–पोलिटिक्स, अर्थात् राजनीतिप्रति चरम वितृष्णा। यो एउटा प्रवृत्ति हो। नेपालमा मात्र हैन, हामी थुप्रै अरू देशको डेमोक्रेसीमा अहिले यो देख्छौँ।

एन्टी–पोलिटिक्समा के हुन्छ? बिस्तारै–बिस्तारै नागरिकले के भन्न थाल्छन् भने राजनीतिको काम छैन। खासगरी अझ पुराना दलहरू काम लाग्दैनन्। कुनै पनि सिद्धान्त, विचारको काम छैन। यी संस्थाहरू कामका छैनन्। नेताहरू कामका छैनन्। सबै पार्टी एउटै हुन्, सबै नेता एउटै हुन्, सबै खराब हुन्।

अघिनै राजेन्द्र लिङ्देनले भन्नुभएन? अघिल्लो अधिवेशनमा भएको के थियो भने राजेन्द्र लिङ्देनले भृकुटीमण्डपमा उभिएर भन्नुभएको थियो— 'जनताले नेतालाई चोर भन्छन्।'

भन्दै गर्दा तल बसेका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले सबभन्दा बढी ताली बजाएका थिए।

सबै पार्टीका नेताहरू हुनुहुन्थ्यो त्यो बेला। कुनै एउटा दलको कुरा थिएन त्यो।

यो एन्टी–पोलिटिक्स हामी संसारका थुप्रै डेमोक्रेसीमा देख्छौँ। तर नेपालमा रोचक के भयो? नेपालमा एन्टी–पोलिटिक्स मात्र भएन, एकै पटक अर्को ट्रेन्ड पनि आयो।

त्यो अर्को ट्रेन्ड भनेको हाइपर–पोलिटिक्स अर्थात् अति राजनीतिकरण।

एकातिर नागरिकले के भन्छ — मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, 'आई हेट पोलिटिक्स', मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ।

तर अर्कोतिर के हुन्छ?

चिया पसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा — सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। केको कुरा हुन्छ? राजनीतिको कुरा हुन्छ।

सबै कुरा राजनीति। चिया खाऊ, राजनीति। गीतमा राजनीति। संगीतमा राजनीति। हुँदा–हुँदा कमेडीका सबै कार्यक्रममा राजनीति।

सबैतिर हेर्नुस् त।

किन एन्टी–पोलिटिक्सले हामीलाई कहाँ लिएर गयो? नागरिकहरूलाई हाइपर–पोलिटिक्समा लिएर गयो।

जहाँ अदालतको एउटा फैसला आयो, हामीले राजनीतिक आँखाले हेर्छौँ। कुनै एउटा विवाद भयो, राजनीतिक आँखाले हेर्छौँ। कुनै एउटा नेताले कुनै कुरा बोल्यो, राजनीतिक आँखाले हेर्छन्।

यो एन्टी–पोलिटिक्स र हाइपर–पोलिटिक्स भित्रभित्र यस्तरी भुसको आगोजस्तो भएको थियो। हामीले यसका बारेमा चासो पाएनौँ। हामी मस्तमा थियौँ।

किनकि हामीसँग शक्ति थियो। किनकि हामीसँग दुईतिहाइ मत थियो।

दुईतिहाइ अहिले मात्र बनेको होइन। अहिले दुईतिहाइको एउटै पार्टीको सरकार छ। तर त्यो बेला पनि दुईतिहाइको सरकार थियो। दुईटा पार्टी मिलेर बनेको ठूलो सरकार थियो।

हामीलाई विगतमा गौरव थियो, शक्तिको उन्माद थियो। हामीले थाहै पाएनौँ सोसाइटीमा के भइरहेको छ भनेर।

एकै पटक भदौ २३ र २४ आयो।

भदौ २३ र २४ को म दानवीकरण पनि गर्दिनँ। म भदौ २३ र २४ का सन्दर्भमा हामीले पहिला भनेका कुराहरूलाई फेरि दोहोर्‍याउँछु। विशेष महाधिवेशनमा भनेका कुराहरूलाई।

भदौ २३ मा भएको दमन गलत, २४ मा भएको आपराधिक घटना गलत। तर यसो भनेर हामीले २३ र २४ भित्र भएको त्यो जनउभारलाई, त्यसको अवमूल्यन गर्न पनि पाउँदैनौँ, गर्न पनि सक्दैनौँ, गर्नु पनि हुँदैन।

किन?

मैले अघि भनेँ, त्यो एकै रातमा भएको थिएन। त्यो भित्रभित्रको उकुसमुकुस विस्फोट भएको थियो।

त्यो घटनापछि नेपाली कांग्रेस पार्टी त त्यसको भिक्टिम हो। हामी त संसदबाट मात्र आएनौँ, सरकारबाट मात्र आएको होइन। हामी त घरबार, परिवार, सबै व्यक्तिगत जीवनमा, आफ्ना निजी सम्पत्तिमा, सबैतिर एउटा मार खाएर आएका।

तर हामीले भन्यौँ— हामी उठ्नुपर्छ। हामी सम्हालिनुपर्छ।

हामीलाई भन्दा बढी पीडा ती आमाहरूलाई छ, जसले आफ्ना छोराछोरी त्यो दिन भदौ २३ र २४ गते गुमाएका छन्। तिनीहरूलाई सबभन्दा बढी पीडा छ। तिनको पीडालाई बुझ्नुपर्छ हामीले, भन्यौँ।

हामीले भन्यौँ, पार्टीको जीवनमा यस्ता दिनहरू धेरैचोटि आएका छन्। हामीले सम्हालिनुपर्छ।

त्यही कुरा लिएर हामी विशेष महाधिवेशनमा गयौँ।

विशेष महाधिवेशन सकियो। हामीले केही संकल्पहरू गर्‍यौँ। हामी निर्वाचनमा गयौँ।

निर्वाचन परिणाम हाम्रा लागि प्रिय रहेन। हामी अहिले सानो भएका छौँ। तर नेपाली कांग्रेस आफ्नो जीवनमा धेरै पटक निर्वाचनमा ठूलो र सानो भएको छ। निर्वाचनको संख्याले कांग्रेसको आकार, कांग्रेसको जिम्मेवारी निर्धारण गरेको होइन।

हामीले त्यही भएर भन्यौँ — यो अधिवेशनबाट अहिलेको समयको जिम्मेवारी निर्वाह गर्ने हामीले संकल्प गर्नुपर्ने छ।

अहिले के भइरहेको छ? म कुनै व्यक्तिका बारेमा टिप्पणी गर्दिनँ। किनकि व्यक्तिका बारेमा टिप्पणी गर्ने कुराले अहिलेको समस्याको हल हुँदैन।

सरकारले सरकारको काम गर्ने, प्रतिपक्षले प्रतिपक्षको काम गर्ने। तर अहिले संसदमा हामीले हेर्‍यौँ भने त्यहाँ जुहारी चलिरहेको देख्छौँ। यति हल्का ढंगले नेपालका विषयहरूको सम्बोधन हुन्छ? हुँदैन।

म मञ्चमा बस्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका आदरणीय सभापतिलाई पनि, पूर्वप्रधानमन्त्रीजीलाई, मेरा साथीहरू सबैलाई तल साक्षी राखेर भन्न चाहन्छु।

अहिले ६ महिनामा बनेको सरकारलाई 'तपाईंले यो गर्नुभएन, तपाईंले त्यो गर्नुभएन' भनेर म भारी बोकाउन चाहन्नँ। किनकि समस्याहरू रातारात सिर्जना भएका होइनन्। तर 'म आएको छु, मैले छुमन्तर गरेर हल हुन्छ' भनेजस्तो समस्याको हल पनि हुँदैन।

नेपालको समस्या नेपालको कारणले मात्र छैन। विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ, हामीले हेर्नुपर्दैन अहिले?

रूस र युक्रेनको युद्धको प्रभाव नेपाललाई परेको छैन? मध्यपूर्वमा जे भइरहेको छ, त्यसको प्रभावबाट नेपाल मुक्त हुन सक्छ अहिले?

विश्व व्यवस्था जस्तो थियो, अहिले जस्तो बनेको छ, त्यसबाट त हामीलाई प्रभाव पर्दैन?

खासगरी जसरी उदारवाद, विश्वव्यापीकरण भएको थियो, त्यसको युग सकियो अब। ठूला–ठूला देशहरू सबै संरक्षणवादी भएका छन्। उच्च भन्सार दर लगाएको छ। कुन सामान उत्पादन गर्ने हो हामीले? कुन सामान बेच्ने हो?

जलवायु परिवर्तनको प्रभाव भर्खर हामीले भोगेर आएका छौँ। यस्ता प्रभावहरू अरू कति भोग्नुपर्ने होला?

एकातिर जलवायुको प्रभाव छ, अर्कोतिर अटोमेसन र आर्टिफिसियल इन्टेलिजेन्सले अबको पाँच वर्षभित्र के गर्छ, हामीलाई केही थाहै छैन। अत्तोपत्तै छैन।

हाम्रा साथीहरू, भाइहरू बाहिर काम गर्न गएका छन्। अहिले त काम पाएका छन्। ती कामहरू कति त्यहाँबाट रित्तिएर ती फर्कनुपर्छ होला? यसको बारेमा छलफल कहाँ गर्ने हो?

संसदमा छलफल भइरहेको छ? समाजमा छलफल छ? कहाँ छ? कहाँ भइरहेको छ छलफल?

अनि हाम्रो भित्र हेरौँ त, हाम्रा समस्याहरू कति छन्।

गाउँमा अहिले घुम्न जाऊँ। पहाडबाट साथीहरू आउनुभएको छ, अहिले थुप्रै पहाडका जिल्लाहरूबाट। पहिलो पटक हिँडेर गएको ठाउँ, मोटरसाइकलमा गएको ठाउँ। अहिले सबैतिर राजमार्गजस्ता बाटाहरू बनेका छन्। तर गाउँका सबै घर रित्ता छन्।

गाउँको बाटोले जम्मा एउटा कुरा बनाइदिएको छ — काठमाडौं आउन सजिलो बनाइदिएको छ। काठमाडौं किन आउनेभन्दा कतार जानका लागि एयरपोर्ट जान सजिलो भएको छ। तर गाउँ रित्तो भएको छ।

मलाई हिजो मात्र भेट्नुभएका एक उद्यमीले भन्दै हुनुहुन्थ्यो— अहिले नेपालका बैंकहरू राम्रो चलेका उद्यमीहरूका घरघरमा गएर 'कृपया लोन लिनुस्, म तपाईंलाई ४ प्रतिशत ब्याजमा लोन दिन्छु' भनिरहेका छन्।

किन?

केटाकेटी बाहिर काम गर्न गएका छन्। रेमिटेन्सबाट पैसा आएको छ। पैसा बैंकमा थुप्रिएको छ। तर बैंकमा लोन लिन कोही पनि जाँदैन।

किन?

सरकार त बन्यो, दुईतिहाइ छ, ताली बजेको छ, संख्या छ, सबै छ। तर खोइ? किन भइरहेको छैन?

किनभने यो समस्या हिजोको जस्तो, हिजो हामीले एक सजिलो बाटो सोच्यौँ।

के भन्दै छौँ हामीले? एकथरीले के भन्दैछौँ— अब तिमीहरू आयौ, तिमीहरू चलाऊ।

सरकारमा बसेकाले के भन्दैछ? ३५ वर्ष खूब खाएका थिए नि!

यति सजिलो ब्ल्याक एन्ड ह्वाइट नेपालको प्रब्लम हो?

त्यही ३५ वर्षभित्र नेपालले युद्ध किन बेहोर्‍यो? यहाँ मेरो छेउमा बस्नुभएको पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुईवटा प्रधानमन्त्रीको बीचमा छु म। कुनै बेला उहाँ दुईटाको टाउकोको मोल थियो।

त्यो युद्ध किन भयो?

अलि पछाडि युद्धपछि फेरि सँगसँगै आएर उहाँले कुरा गर्नुभयो गिरिजाप्रसाद कोइरालासँग, त्यही मञ्चमा बसेर शान्ति प्रक्रियामा हस्ताक्षर किन भयो?

यो सबै यही ३५ वर्षमा भएको होइन?

तर यही ३५ वर्षभित्र फेरि हाम्रा गाउँहरू रित्ता किन भए? हाम्रा यत्रा युवाहरू बाहिर काम गर्न किन गए?

किन हामीले नेपालभित्र उद्योगधन्दा, कलकारखाना चलाउन सकेनौँ? किन हामीले उत्पादन गर्न सकेनौँ?

यत्रो विश्वको छेउछाउमा चाइना र इन्डिया जत्रो बजार हुँदै गर्दाखेरि पनि किन चल्न सकेन हाम्रो उद्योगधन्दा?

यी प्रश्नहरूको उत्तर सँगसँगै बसेर खोज्नुपर्नेछ।

त्यसैले म आग्रह गर्न चाहन्छु — हिजो दुईटा कुरा प्राप्त गर्‍यौँ हामीले — एउटा डेमोक्रेसी, एउटा डाइभर्सिटी।

यी दुईटा कुरालाई गुमाउने होइन, यसलाई जोगाउने हो।

तर यतिले पुग्दैन। नागरिकले के मागेको छ? डेलिभरी मागेको छ, डिग्निटी मागेको छ।

त्यो डिग्निटी र डेलिभरी अब हामीले दिन सक्नुपर्छ। अब नेपाली कांग्रेस पार्टीका साथीहरूले सोचौँ — यो दिन सक्नुपर्छ भन्ने यदि हामीलाई थाहा छ भने, अब भोलिदेखि चिन्तन गरौँ, यो दिनका लागि तपाईं र हामीले गर्न चाहिँ के पर्छ? कस्तो कांग्रेस बनाउनुपर्छ?

त्यसको लागि एउटा प्रश्नबाट प्रारम्भ गरौँ। आजको दिनमा नेपाली कांग्रेस पार्टी बन्द भयो भने के हुन्छ? एउटा पुरानो पार्टी नेपालको नक्साबाट हराउँछ।

यति उत्तरले पुग्छ? पुग्दैन। आजको दिनमा नेपाली कांग्रेस पार्टी बन्द भयो भने के हुन्छ भन्ने प्रश्नको उत्तर नागरिकले स्वतःस्फूर्त दिन सक्ने हामीले बनाउनुपर्नेछ।

के हुन्छ?

हाम्रो आवश्यकता एउटा छ, हाम्रो अवस्था एउटा छ। आवश्यकता र अवस्थाको बीचमा पुल चाहिएको छ। त्यो पुलको काम कसले गर्छ अब?

नेपाली कांग्रेसले गर्छ। एकातिर डेमोक्रेसी छ, अर्कातिर डेलिभरी छ। डेमोक्रेसी र डेलिभरीको बीचमा पुलको काम कसले गर्छ? कांग्रेसले गर्छ।

एकातिर स्वतन्त्रता छ, अर्कातिर समृद्धि छ। यसको बीचमा पुलको काम कसले गर्छ? कांग्रेसले गर्छ। एकातिर पुरानो पुस्ताको अनुभव छ, अर्कातिर नयाँ पुस्ताको ऊर्जा छ। जोड्ने काम कसले गर्छ? पुलको काम कसले गर्छ? कांग्रेसले गर्छ।

एकातिर इतिहास छ, अर्कातिर सुनौलो भविष्यको सम्भावना छ। जोड्ने काम कसले गर्छ? त्यो पुलको काम कसले गर्छ? त्यो पुलको काम कांग्रेसले गर्छ।

यो संकल्प गरेर यहाँबाट निस्केर जानुपर्नेछ। कांग्रेसले पुलको काम गर्छ र पुल भत्क्यो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन। कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन।

विश्वास के हो, थाहा छ?

विश्वास — एउटा नागरिकलाई आज बेलुका घर गएर आँखा चिम्लेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो हो।

त्यो विश्वास चाहिएको छ। त्यो विश्वासका लागि नेपाली कांग्रेस पार्टीले काम गर्नुपर्नेछ। यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रस्ट भएर जानुपर्नेछ। हाम्रो पक्षधरता चाहिएको छ। हामी यता पनि ढल्किने, उता पनि ढल्किने भएर हुँदैन। हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ।

नेपाली कांग्रेस पार्टीअघि यहाँ निर्वाचनको कुरा आयो। नेपाली कांग्रेस पार्टीले यो अधिवेशनबाट प्रस्टसँग भन्नुपर्छ — हामी आफ्नो सिद्धान्तमा अडिग रहँदै गर्दा एउटा निर्वाचन होइन, पाँचवटा निर्वाचन हार्नुपरे पनि त्यो हार स्वीकार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ।

यो भन्ने आँट यो अधिवेशनबाट नेपाली कांग्रेस पार्टीले गर्नुपर्छ।

नेपाली कांग्रेस पार्टीले भन्न सक्नुपर्छ — हामी बलियो सरकारको पक्षमा छौँ, तर सरकारभन्दा नागरिक बलियो हुनुपर्छ भन्ने पक्षमा छौँ। अधिवेशनबाट हामीले भन्न सक्नुपर्छ।

हामी यस्तो अर्थतन्त्रको पक्षमा छौँ, जहाँ उद्यमीले कमाउन पाउनुपर्छ। जहाँ उद्यमीले कमाउन पाउनुपर्छ, तर जहाँ श्रमिकको पनि सम्मान हुनुपर्छ।

हामी यस्तो सोसाइटीको पक्षमा छौँ, जहाँ प्रत्येक नेपालीलाई कानुन सबैका लागि बराबर हुन्छ भन्ने कुराको विश्वास हुनुपर्छ। हामी यस्तो समाजको पक्षमा छौँ, जुन ठाउँमा जोसँग सफलता, जो सफल हुन्छ, सफलतालाई दण्डित गरिन्न, तर असफललाई परित्याग पनि गरिन्न भन्ने भरोसा दिलाउनुपर्नेछ। हामी समृद्धिको पक्षमा छौँ। यो समृद्धिको मिसन लिएर नेपाली कांग्रेस पार्टी जानुपर्नेछ।

चुनाव आउँछ, जान्छ साथीहरू। यसको अर्थ नेपाली कांग्रेस पार्टीले चुनावको बारेमा ख्याल गर्नुपर्दैन भन्ने होइन। तर हाम्रो क्राइसिस इलेक्ट्रोरल क्राइसिस होइन। हाम्रो क्राइसिस आइडेन्टिटीको हो। हाम्रो क्राइसिस पर्पजको हो।

म एउटा नेपाली कांग्रेस पार्टीको साथीले कोहीसँग परिचय गराउँदै गर्दाखेरि, 'जय नेपाल! म नेपाली कांग्रेस पार्टीको वडाध्यक्ष हो' भनेर कसैलाई परिचय गराउनुभन्दा पहिला, परबाट आउँदै गरेको एउटा साथीले यसरी परिचय गराइदिओस्— 'ऊ परबाट त्यो साथी आउँदै छ, त्यसले हाम्रो सामुदायिक विद्यालयमा बडो मेहनत गरेर काम गरेको छ, अनि त्यो कांग्रेस पनि हो' भनेर पछाडि जोडेर भनिदियोस् न।

म 'जय नेपाल! म जिल्ला सदस्य हो' भनेर परिचय गर्नुभन्दा पहिला, छेउमा बसेको अर्को साथीले भन्दियोस् न— 'ऊ, त्यो साथीलाई म चिन्छु, त्यो हिंसामा परेका महिलाहरूको पक्षमा वकालत गर्ने मान्छे हो, अनि त्यो कांग्रेस पनि हो' भनेर पछाडि जोडेर भन्दियोस् न।

प्रत्येक कांग्रेसको एउटा पर्पज होस् न।

कांग्रेस हुने कुराको अर्थ केवल पार्टी, पार्टीको झन्डा, पार्टीको नारा, उम्मेदवार बन्ने, उम्मेदवार जिताउने, उम्मेदवार हराउने, पार्टीभित्र उम्मेदवार, पार्टीबाहिर उम्मेदवार, एउटा चुनावबाट अर्को चुनावसम्म मात्र होइन। हाम्रो पार्टी त्यसरी बनेको होइन।

यो पार्टी त्योभन्दा धेरै माथिबाट बनेको, धेरै परबाट बनेको। यही बदल्ने संकल्प लिएर हामी आएका छौँ।

बदलिनुको अर्थ के हो फेरि?

कहिलेकाहीँ साथीहरू बदल्ने भनेर नयाँ हुने भन्नुहुन्छ।

बदलिनुको अर्थ प्रस्ट छ फेरि।

हाम्रो भ्यालुज, हाम्रो मूल्य, त्यसको निरन्तरता हो। हाम्रो व्यवहार यसमा परिवर्तन हो। हाम्रो आत्मा यही हो।

त्यही बिपी कोइरालाकै हो, त्यही गणेशमानकै हो।

बिपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुन्छ, मलाई थाहा छैन। तर आत्मा यहाँ छ, त्यो मलाई थाहा छ।

आत्मा यहाँ छ। आत्मा यही हो साथीहरू। तर हाम्रो शैली बदलिनुपर्नेछ। हाम्रो भाषा बदलिनुपर्नेछ। हाम्रो कर्म बदलिनुपर्नेछ। हाम्रो सोच्ने तरिका बदलिनुपर्नेछ। हाम्रो संस्कार बदलिनुपर्नेछ। हाम्रो संस्कृति बदलिनुपर्नेछ।

महाधिवेशन आयो, भोलिबाट बन्द सत्र सुरु हुन्छ, दुई–तीन दिन छलफल गर्छौँ, अधिवेशन सक्यो, फोटो खिच्यो, बेलुका राख्यो, गयो—होइन।

यहाँबाट फर्किसकेपछि तपाईंहरू प्रत्येकले एउटा कर्म गर्नुपर्नेछ।

यहाँबाट गइसकेपछि वडा–वडामा गएर पार्टीको संगठनलाई जीवित बनाउनुपर्नेछ।

संगठन अहिले मरेको छ, त्यो होइन। संगठन छ। तर संगठनको अर्थ पार्टी कार्यालय मात्र होइन। संगठनको अर्थ अधिवेशन मात्र होइन।

संगठनको अर्थ जनतासँग एकाकार हुनु हो।

पार्टीको संगठनको अर्थ त्यतिकै रहन्छ, चाहे संसदमा होस्, चाहे सडकमा होस्, चाहे तपाईंको गाउँमा गएर होस्।

एउटा किसानले, एउटा नवयुवकले, एउटा अल्पसंख्यकले, जोसुकै होला, अप्ठ्यारो परेको जोसुकै होला, पार्टी खोज्ने, संगठन खोज्ने जोसुकै होला—उसलाई तपाईंले साथ दिन सक्दै गर्दा त्यतिखेर मात्रै पार्टी हुनुको अर्थ रहन्छ, संगठन हुनुको अर्थ रहन्छ।

त्यसैले आदरणीय साथीहरू, म तपाईंहरू सबैलाई अन्त्यमा आग्रह गर्न चाहन्छु।

यहाँबाट फर्केर गइसकेपछि तपाईंहरूले भन्नुपर्नेछ — कहीँ साथीहरू रिसाउनुभएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनुभएको छैन।

कसैले तपाईंलाई यहाँबाट फर्केर गएर सोध्यो भने भन्दिनुहोला — हामीले आज शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ।

आज शेरबहादुर दाइ हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो। तर केही छैन, यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाइको मान राख्यो कि राखेन भनेर कसैले सोध्यो भने तपाईंले भन्दिनुहोला— शेरबहादुर दाइको मान राख्ने भनेर दिनमा कति पटक शेरबहादुर दाइको ढोकामा गएर कति पटक सलामी दियो भन्ने कुराले मान रहने होइन।

शेरबहादुर देउवाले काम गर्नुभएको पार्टीलाई अग्लो बनायो कि बनाएन, फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट रहने हो।

यो मान हामी राख्छौँ भनेर तपाईंले भन्दिनुहोला।

थुप्रै साथीहरू नेपाली कांग्रेस पार्टी छाडेर जानुभएको छ। ती छाडेर जानुभएका साथीहरूलाई भन्दिनुहोला, तपाईंहरूले यहाँबाट गइसकेपछि— तपाईंले कांग्रेस छाडेको होइन, खासमा कांग्रेसले तपाईंलाई छाडेको हो।

किन थाहा छ?

किन कांग्रेसले छाडेको हो भने, कांग्रेसलाई त्यति माया गर्ने साथीहरू— अघि नै चर्चा भइसकेको छ— कांग्रेसलाई त्यति माया गर्ने साथीहरूको मनमा चोट पुर्‍याएको हामीले, हाम्रो कामले चोट पुर्‍याएको। त्यस कारण कांग्रेसले उहाँहरूलाई छाडिदियो।

तपाईंले गएर भन्दिनुहोला— हिजो कांग्रेसले छाडेको थियो, अब कांग्रेस तपाईंलाई फेरि जोड्न आउँदैछ।

तपाईंले आजै आऊ, आजै जोडियौँ भनेर त्यो जोडिँदैन। तपाईंले यति भन्दिनुहोला— यो कांग्रेसलाई एकपटक यी केटाहरू आएका छन्, यिनीहरूलाई केही समय दिनुहोला, यिनीहरूले गरेका काम हेर्नुहोला, यिनका निर्णय हेर्नुहोला, सबभन्दा ठूलो कुरा नैतिकताको कसीमा यिनीहरूलाई जाँचेर हेर्नुहोला भनेर एक पटक तपाईंहरूले गएर भन्नुहोला।

तपाईंले यहाँबाट गइसकेपछि तिनैहरूलाई गएर भेट्नुहोला र भन्नुहोला।

उनीहरूले भन्लान् नि तपाईंलाई— कांग्रेस त पुरानो पार्टी हो।

तपाईंले भन्नुहोला— हो, तर पुरानोको अर्थ के हो?

कुनै पार्टीको रजिस्ट्रेसन कहिले भएको छ? रजिस्ट्रेसन सर्टिफिकेटका आधारमा नेपालको सबभन्दा पुरानो पार्टी कांग्रेस हो। तर कुनै पार्टी पुरानो र नयाँ रजिस्ट्रेसन सर्टिफिकेटका आधारमा होइन, वर्तमानको प्रश्नको उत्तर दिन सक्ने सामर्थ्य राख्छ कि राख्दैन, त्यसको आधारमा पार्टी पुरानो र नयाँ हुन्छ।

आजका युवाको प्रश्नको उत्तर दिने सामर्थ्य बोकेर मेरो कांग्रेस आएको छ भनेर तपाईंहरूले गएर भन्दिनुहोला।

तपाईंले गएर अन्य पार्टीका साथीहरूलाई भन्दिनुहोला— आज हामीले मञ्चमा बोलाएर भन्यौँ, राखेर भन्यौँ, हामी सबैप्रति, हामी उहाँहरूप्रति ग्रेटफुल छौँ, थ्यांकफुल छौँ, आज हाम्रो कार्यक्रममा आइदिनुभयो। तल पनि तपाईंहरूले यसै गरिकन सबैसँग मिलेर काम गर्नुहोला।

हाम्रो कोही दुश्मन छैन। चुनावमा प्रतिस्पर्धा गरौँला। मैले पनि आज हाम्रा समस्या यति ठूला छन्, हामी अरू देशको संसदीय व्यवस्था जस्तो केवल प्रतिपक्ष र सरकार भनेर प्रतिस्पर्धा गरेर मात्र यो समस्याको हल गर्न सक्दैनौँ। हामीलाई विश्वास कायम गर्नुपर्ने छ। सद्भाव कायम गर्नुपर्ने छ। डर देखाएर होइन, 'म तपाईंलाई चार प्रतिशत ब्याजमा लोन दिन्छु' भनेर, 'म असल, त खराब' भनेर होइन।

असल र खराबको प्रतिस्पर्धा आफ्नो ठाउँमा गरौँला। हामीलाई सहकार्य चाहिएको छ। यो सहकार्यका निम्ति तल पनि तपाईंहरूले गएर काम गर्नुहोला।

नेपाली कांग्रेस पार्टीले कसैलाई डर देखाएर होइन, नेपाली कांग्रेस पार्टीले सबैलाई भरोसा दिएर जनताको मन जित्ने हो।

म आशाको पक्षमा छु। आशा भनेको समस्या छैन भन्ने होइन। आशा भनेको समस्या छ, तर जहाँ समस्या छ, समस्या भएको ठाउँमा समाधान पनि छ भन्ने विश्वास आशा हुनु हो।

त्यो आशा लिएर तपाईंहरू जाने हो, यो आशा लिएर हामी जाने हो।

किन?

हामीले असम्भव भनेका थुप्रै कुराहरूलाई सम्भव बनाएको होइन?

हिजो राणा फाल्ने कुरा असम्भव थियो, सम्भव बनायौँ।

हिजो पञ्चायत फाल्ने कुरा असम्भव लाग्थ्यो, सम्भव बनायौँ।

हिजो हिंसालाई शान्तिमा बदल्ने कुरा असम्भव लाग्थ्यो, सम्भव बनायौँ।

हिजो संविधान बनाउने कुरा असम्भव लाग्थ्यो, सम्भव बनायौँ।

आज हामीलाई कतिपय कुरा असम्भव लागिरहेको छ। नेपाल बन्दैन कतिले भन्नुहुन्छ, असम्भव जस्तो लाग्छ— सम्भव बनाउँछौँ।

नेपाली केटाकेटी बाहिर काम गर्न गएका छन्। म यहाँ उभिएर ठूलो कुरा गर्दिनँ, तर एउटा दिन आउने हो, हामी सबै मिलेर नेपालभित्रै उनीहरू बस्न सक्ने, नेपाल फर्काउन सक्ने बनाउन सक्छौँ। यसलाई सम्भव बनाउने हो।

नेपाल बन्छ भन्ने भाष्य स्थापित गर्ने हो। नेपाल बन्दैछ भन्ने भाष्य स्थापित गर्ने हो। त्यो सम्भव बनाउने हो।

त्यो सम्भव बनाउन म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु। विशेष महाधिवेशनबाट हामीले एउटा संकल्प गर्‍यौँ— नेपाली कांग्रेस बदल्यौँ भनेर संकल्प गर्‍यौँ।

यो अधिवेशनबाट हामीले संकल्प गर्नुपर्ने छ— कांग्रेस बदलिएको मात्र होइन, नेपाललाई बदल्ने क्षमता कांग्रेसले आर्जन गर्छ भन्ने एउटा संकल्प गरेर यहाँबाट जानुपर्ने छ।

यो बदलिएको कांग्रेसले नेपाललाई बदल्ने क्षमता आर्जन गर्न सक्छ।

इतिहास हामीले बनाएको हो। तर इतिहास बनाएर मात्र हुँदैन अब। नयाँ इतिहास रच्ने तागत यो नेपाली कांग्रेसले राख्छ भन्ने विश्वास लिएर यहाँबाट जानुपर्ने छ साथीहरू।

यो महाधिवेशन एउटा सुरुवात हो, एउटा नवीकरणको सुरुवात हो।

यो महाधिवेशनलाई सफल बनाएर तपाईं–हामी सबै एउटा नयाँ ऊर्जा लिएर जानुपर्ने छ।

म आज मेरा साथीहरू सम्झिरहेको छु। म सुनाम तामाङलाई सम्झिरहेको छु। म सार्कीबुटी तामाङलाई सम्झिरहेको छु।

उपसभापतिलाई याद छ छैन, सुनाम तामाङ र सार्कीबुटी तामाङ दुवै जना विशेष महाधिवेशनमा आउनुभएको थियो, रसुवाबाट। तर दुवै जना साथीहरू यो अधिवेशनमा आज कति सानले आएर ताली बजाउनुहुन्थ्यो होला, तर दुवैलाई बाढीले बगाएर लिएर गयो।

यस्ता थुप्रै–थुप्रै साथीहरू आज हाम्रो बीचमा हुनुहुन्न। हजारौँ नागरिकहरू हाम्रो बीचमा हुनुहुन्न।

यसरी अधिवेशन गर्न मलाई मन थिएन। यो यत्रो पीडा परेको बेला कम्तिमा यो शान्त होस् भन्ने चाहना थियो।

तर संविधानले तोकेको, अदालतले तोकेको, पार्टीको विधानले तोकेको कारणले हामी बाध्य थियौँ। त्यसैले यही समय हामीले अधिवेशन गर्नुपर्‍यो। तर हामीले अधिवेशन गरिराख्नु पर्दै गर्दा पनि हामीले ती पीडाहरूलाई बिर्सेका छैनौँ। हामी साथमा छौँ। हिजो पनि थियौँ, आज पनि छौँ।

पार्टीका साथीहरूको मात्र होइन, आम नागरिकहरूको साथमा छौँ।

यहाँबाट निस्केर जाँदै गर्दा हामीले त्यो पनि संकल्प गरेर जानुपर्ने छ। हामी फेरि फर्केर गएर ती साथीहरूसँग गएर जोडिनुपर्ने छ।

म फेरि एक पटक यहाँहरू सबैलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा हार्दिक स्वागत गर्न चाहन्छु।

अघि नै रविजीले एउटा प्रसंग उठाउनुभएको छ — थुप्रै यहाँ भएका साथीहरूले मत हाल्नुभयो कि भनेर भन्नुभएको छ। हामीले त मतदाता मात्र होइन, त्यो संसदभित्र हेर्नुभयो भने ४०–५० जना साथीहरू त प्रशिक्षित गरेर पठाएका छौँ।त्यसैले चिन्ता पनि त्यसका बारेमा धेरै होइन।

फेरि हाम्रो, हाम्रो पार्टीमा भनेको होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिदेखि तलसम्म हेर्‍यो भने पनि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर गएका साथीहरू थुप्रै हामीले प्रशिक्षित गरेर पठाएका छौँ।

त्यसका बारेमा पनि केही छैन। यता राम्रा–राम्रा कुरा सिकाएर पठाएका छौँ। धेरै त्यस्तो केही छैन।

म योभन्दा बढी भन्दिनँ। पार्टीमा आज हाम्रो आमन्त्रणलाई स्वीकार गरेर लामो समयसम्म बस्नुभयो, त्यसका लागि सबैलाई आभार प्रकट गर्न चाहन्छौँ। हामी अब दुई दिन बन्द सत्र गर्छौँ। बडो शान्त भएर, भव्यतापूर्वक कार्यक्रम सम्पन्न गर्छौँ। र त्यस पछाडि पार्टीको नेतृत्व चयन गर्छौँ।

पार्टीको मञ्चमा रहनुभएका, यहाँ नरहनुभएका कतिपय साथीहरू आउँदै हुनुहुन्छ अहिले पनि। सबैको बीचमा हार्दिकताका साथ, यहाँ छुट्नुभएका साथीहरूलाई पनि अधिवेशनपछि पनि पार्टीमा जोड्ने कर्म हामी निरन्तर रूपमा गरिराख्छौँ।

एउटा संकल्प गरेर नेपाली कांग्रेसले अधिवेशन सम्पन्न गर्छ। हामी कुनै निराश भएर पनि होइन, कुनै निन्दक भएर पनि होइन। नेपाली समाजमा हाम्रो एउटा विशिष्ट पहिचान छ। त्यो पहिचान हामीलाई निर्वाचनले होइन, हाम्रो कर्मले दिएको पहिचान हो। त्यो कर्मले दिएको पहिचान फेरि एक पटक यो समाजले जे खोजेको छ, खोजेको त्यो प्रश्नको उत्तर दिएर, त्यो कर्मबाट त्यो पहिचानलाई स्थापित गर्छौँ भन्ने संकल्प गरेर हामी अधिवेशनलाई सम्पन्न गर्नेछौँ।

यहाँहरू सबै जना हार्दिकतापूर्वक अधिवेशनका सबै कार्यक्रममा सहभागी भइदिनुहोस्। प्रतिनिधि साथीहरूलाई आग्रह गर्दै, सबै अतिथिज्यूप्रति हार्दिक आभार प्रकट गर्दै म आफ्ना कुरा टुंग्याउन चाहन्छु।

(नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति गगन थापाले गरेको सम्बोधनको पूर्ण पाठ)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७