मध्यपहाडी लोकमार्गमा ठूलो क्षति, धवलागिरिको सडक सम्पर्क प्रभावित
गण्डकी : कालीगण्डकी नदीमा आएको बाढीले धवलागिरि क्षेत्रका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्गमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जोड्ने सडक विभिन्न स्थानमा अवरुद्ध बनेपछि यातायात प्रभावित भएको छ। बाढीले पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुलमा करिब १ सय मिटर सडक नै बगाएको छ।
सडकको पूरै भाग कटान भएकाले तत्कालै अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन गर्नसमेत केही दिन लाग्ने जनाइएको छ।
यस्तै, पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलमा समेत क्षति पुगेको छ। पुलको पर्वततर्फको भाग भत्किएकाले जीर्णोद्धार नगरेसम्म सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिए।
सडक र पुलमा क्षति पुगेपछि कास्कीलगायत जिल्लाबाट बागलुङ, म्याग्दी र मुस्ताङतर्फ जाने साना सवारीसाधनले छमर्कैबाट पाङ हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। ठूला सवारीसाधन भने विभिन्न स्थानमा रोकिएका छन्।
मध्यपहाडी लोकमार्ग हुँदै बागलुङबाट पूर्वी रुकुम, पश्चिम रुकुमलगायत जिल्लातर्फ जाने लामो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन सकेका छैनन्। सडक अवरुद्ध हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रुले थप सास्ती खेप्नुपरेको छ।
यसैगरी मालढुंगादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडकखण्ड पनि अवरुद्ध भएको छ। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलसहित आएको बाढीले सडक कटान गरेपछि यातायात ठप्प भएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए।
फर्से र लस्ती क्षेत्रमा मात्रै दुई–तीन ठाउँमा बाढीले सडक कटान गरेको उनले बताए। क्षतिको अवस्था हेर्दा उक्त क्षेत्रमा केही दिनसम्म यातायात प्रभावित हुने देखिएको उनले बताए।
बाढीले जलजला–८ फर्सेको पुरानो बजारसमेत बगाएको छ। बाढीका कारण फर्से क्षेत्रमा ६६ घर क्षतिग्रस्त भएका छन् भने थप २५ घर उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिए।
बाढीबाट हालसम्म मानवीय क्षति नभए पनि सडक, पुल, घर तथा बस्तीमा ठूलो भौतिक क्षति पुगेको अध्यक्ष आचार्यले बताए।
कालीगण्डकीको बहाव घटेपछि मात्रै क्षतिग्रस्त सडक तथा संरचनाको पुनःस्थापना र वैकल्पिक मार्ग सञ्चालनको काम अघि बढाउन सहज हुने जनाइएको छ।
.gif)

.png)


