कुलेखानीमा पानीको सतह खतरा तहमा


२०८३ असोज ११ आइतबार १५:३४ बजे
फाइल फोटो

काठमाडौं : लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। 

जलाशयमा पानीको सतह खतरा तहमा पुग्न थालेपछि देउराली–सिस्नेरी सडकखण्ड आइतबार दिउँसो ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म बन्द गरिने भएको छ। कुलेखानीमा पानीको सतह १ हजार ५२६ मिटर नाघिसकेको छ। 

सतह १ हजार ५२७ मिटर पुगेपछि सचेत गराउन साइरन बजाइने बताइएको छ। रातिको समयमा जलाशयको पानीको सतह थप बढेर आकस्मिक रूपमा ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने भएकाले पूर्वसावधानीस्वरूप सडक बन्द गर्न लागिएको हो।

निर्धारित अवधिमा भैँसे हुँदै देउराली–सिस्नेरी–बागमतीतर्फ कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन। त्यस्तै, काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीसाधनलाई समेत सो अवधिमा सञ्चालन नगर्न आग्रह गरिएको छ।

काठमाडौं जाने वा हेटौँडा आउने अत्यावश्यक यात्रुले त्रिभुवन राजपथ प्रयोग गर्न सक्नेछन्। तर, त्रिभुवन राजपथमा सवारी सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको समयतालिका पालना गर्नुपर्नेछ।

विशेष सूचनामा कुलेखानी ड्यामका ढोका खोलिएको उल्लेख छैन। जलाशयमा पानीको सतह निरन्तर बढिरहेको र राति आकस्मिक रूपमा ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सडक बन्द गरिएको हो।

ड्यामका ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने र देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने भएकाले पूर्वसावधानी अपनाइएको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७