परराष्ट्रमन्त्रीलाई चिनियाँ विदेशमन्त्रीले भने: टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो
‘नेपालको विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा चीन सधैँ भरपर्दो साझेदार’
काठमाडौं : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको द्विपक्षीय भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनबीचको सम्बन्धलाई अत्यन्त महत्त्वका साथ उजागर गरेका छन्। बेइजिङमा भएको भेटमा विदेशमन्त्री वाङले ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो’ हुने भनाइ उद्धृत गर्दै नेपालको विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा चीन सधैँ भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार, वाङले नेपाल र चीन पहाड र नदीले जोडिएका साझा भविष्य भएका छिमेकी रहेको बताउँदै कूटनीतिक सम्बन्ध स्थापना भएयता अन्तर्राष्ट्रिय परिस्थिति वा आन्तरिक राजनीतिक उतारचढावका बाबजुद दुई देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई आत्मसात् गर्दै सम्बन्धलाई निरन्तर अगाडि बढाएको स्मरण गरे।
भेटका क्रममा वाङले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले सधैँ समर्थन गर्ने र नेपालको राष्ट्रिय परिस्थितिअनुकूल विकास मार्गको खोजीमा पूर्ण सहयोग रहने आश्वासन दिएका छन्। साथै, ‘एक चीन नीति’प्रति नेपालको दृढ प्रतिबद्धता तथा ताइवान र तिब्बतसँग सम्बन्धित चीनका मूल हितका विषयमा नेपालले देखाएको समर्थनको उनले उच्च प्रशंसा गरेका छन्।
दुवै पक्षले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका र हवाई यातायात जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने र चिनियाँ कम्पनीहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्ने सहमति गरेका छन्। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा स्थापना भएको रणनीतिक सहकार्यलाई थप उचाइमा पुर्याउँदै बहुपक्षीय मञ्चहरूमा समेत विकासशील राष्ट्रहरूको साझा हितका लागि सहकार्य सुदृढ गर्ने दुवै नेताबीच सहमति भएको छ।
.gif)

.png)

