चीनसँगको वार्तामा परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिन्नौं
‘एक चीन नीति’प्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने स्पष्ट पारेको छ। जवाफमा चीनले नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति दृढ समर्थन व्यक्त गरेको छ।
बेइजिङ : नेपालले आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएको छ। बेइजिङमा सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीबीच भएको द्विपक्षीय वार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो।
वार्तामा नेपाली पक्षले ‘एक चीन नीति’प्रति दृढ रहेको स्पष्ट पार्दै नेपाली भूमि छिमेकी मुलुक चीनको सुरक्षा चासोविरुद्ध प्रयोग हुन नदिने कुरामा जोड दिएको थियो। जवाफमा चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति पूर्ण समर्थन जनाउँदै नेपाल सरकारका सुशासन र आर्थिक वृद्धिका प्राथमिकतामा निरन्तर सहयोग रहने आश्वासन दिएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार, दुवै पक्षले एकअर्काका संवेदनशीलता र प्राथमिकतालाई सम्मान गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। वार्ताका क्रममा पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, कृषि, प्रविधि हस्तान्तरण, पर्यटन, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो। साथै, विगतमा भएका सहमति र परियोजनाहरूलाई शीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत दुवै पक्षले व्यक्त गरेका छन्।
वार्तामा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य बढाउने सहमति भएको छ। द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ यीले मन्त्री खनालको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
बेइजिङ भ्रमणको क्रममा मन्त्री खनालले सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाईसिङसँग पनि भेटवार्ता गरेका थिए। भेटमा नेपाल–चीन सम्बन्ध र दुई दलबीचको आदानप्रदान विस्तार गर्ने विषयमा विचार विमर्श भएको थियो।
त्यस्तै, मन्त्री खनालले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप गहिरो बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। संस्थानले त्रिभुवन विश्वविद्यालय लगायतका नेपाली संस्थाहरूसँग गर्दै आएको सहकार्यबारे पनि उनलाई जानकारी गराइएको थियो।
.gif)

.png)

