सार्वजनिक कार्यक्रममा रोक लागेपछि दाङको कार्यक्रम छाडेर फर्किए खगेन्द्र
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर दाङबाट फर्किएका छन्।
बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग जोडिएको धम्कीयुक्त अश्लील अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई सांसद तथा पार्टी नेताको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै उनी फर्किएका हुन् ।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गरी गर्न लागेको सर्वेक्षणका लागि सुनारसहित सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो।
आइतबार बेलुकी तुलसीपुर पुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चारवटा पालिकामा सर्वेक्षण सम्पन्न गरेको थियो।
कार्य तालिकाअनुसार मंगलबार घोराहीसहितका क्षेत्रमा छलफल गर्ने कार्यक्रम तय भएको थियो। तर, सुनार फर्किएपछि बाँकी दुई सांसदले मात्रै कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले बंगलाचुली गाउँपालिकामा पुगेर निर्धारित कार्यक्रम अघि बढाएका हुन्।
रास्वपा दाङका सभापति किरण खनालले मंगलबार बिहान ९ बजे नै सांसद सुनारलाई बिदाइ गरिएको जानकारी दिए। उनकाअनुसार सुनार फर्किए पनि अन्य कार्यक्रम भने पूर्वनिर्धारित कार्य तालिकाअनुसार सञ्चालन भइरहेका छन्।
विवादित अडिओ सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै घटनाबारे पार्टीको अनुशासन आयोगले छानबिन गर्ने बताएका थिए।
छानबिन प्रतिवेदन नआउँदासम्म सुनारलाई पार्टी नेता तथा सांसदको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पनि विज्ञप्तिमा उल्लेख थियो।
यता, सांसद सुनारले भने आफूविरुद्ध सार्वजनिक भएको अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। उनले दाङबाटै भिडियो सार्वजनिक गर्दै प्रहरीले केही व्यक्तिलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र गरिएको आरोपसमेत लगाएका छन्।
अडिओको सत्यता र त्यससँग जोडिएका आरोपबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। रास्वपाले भने घटनाको छानबिनका लागि अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ। आयोगको प्रतिवेदनपछि पार्टीले थप निर्णय गर्ने अपेक्षा गरिएको छ।
.gif)

.png)



