आजदेखि मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन
४२१ स्थानीय तहका प्रतिनिधि सहभागी
मुस्ताङ : जलवायु परिवर्तनका असर र त्यसबाट उत्पन्न चुनौतीबारे स्थानीय तहको साझा धारणा बनाउन आयोजना गरिएको ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ आजदेखि मुस्ताङमा सुरु हुँदैछ।
सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका छन्। घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार स्थानीय तहका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगेका छन्। उनीहरूको बसोबास स्थानीय होटलमा व्यवस्थापन गरिएको छ।
सम्मेलनको व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताइन्। आगन्तुकका लागि सम्मेलनस्थलमै बिहानको खाजा, खाना तथा दिउँसोको खाजा आमा समूहले व्यवस्थापन गर्नेछ भने बेलुकाको खाना र बसोबासका लागि गाउँपालिकाले तोकेका होटलमा व्यवस्था गरिएको छ।
सम्मेलनलाई लक्षित गरी घरपझोङका पाँचवटै वडाका सडक तथा बस्तीलाई स्थानीय कला र संस्कृतिसहितका ध्वजापताकाले सजाइएको छ। मुख्य तथा भित्री सडकमा सडकबत्ती जडान गरिएको छ भने अतिथिको स्वास्थ्य परीक्षण, खानेपानी, इन्टरनेट, विद्युत्, पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि समेत तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
जोमसोम कभर्डहलमा हुने सम्मेलनका लागि स्टेज, साउन्ड सिस्टम र ब्यानरसहित आवश्यक सजावट गरिएको सूचना अधिकारी विकास सज्यालले जानकारी दिए। सम्मेलनस्थलमा २८ फिट अग्लो ‘रोइरहेको पृथ्वी’को आकृति राखिएको छ। जलवायु परिवर्तनले पृथ्वीमा पारेको असरबारे जनचेतना जगाउने उद्देश्यले उक्त आकृति राखिएको आयोजकले जनाएको छ।
मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनस्थलमा ५० भन्दा बढी स्टलसमेत राखिएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनका असर, स्थानीय तहले भोगिरहेका चुनौती तथा त्यसको न्यूनीकरण र अनुकूलनका उपाय समेटिएको जलवायु घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ।
.gif)

.png)

