तीजपछि आज ऋषि पञ्चमी
काठमाडौं : नेपाली महिलाले आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा बिहानै स्नान गरी सप्तऋषिको पूजा गर्ने धार्मिक परम्परा छ।
यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको पारायण गरेकै भोलिपल्ट ऋषि पञ्चमी परेको छ। त्यसैले व्रत पारायणपछि पञ्चमी स्नानलगायतका धार्मिक कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमीको व्रत तथा पूजा महिलाका लागि मात्र उल्लेख गरिएको छ।
परम्पराअनुसार महिलाले नदी, खोला, ताल वा पोखरीमा गएर ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार रजस्वलाका क्रममा जानी–नजानी भएका त्रुटिबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने परम्परा विकास भएको हो। यद्यपि, यस्ता मान्यतासँग जोडिएका विषयलाई आधुनिक स्वास्थ्य र विज्ञानको दृष्टिकोणबाट समेत अध्ययन गर्नुपर्नेमा अध्यात्मिक लेखक पण्डित मधुसुदन सुवेदीले जोड दिएका छन्।
ऋषि पञ्चमीको धार्मिक पृष्ठभूमिसँग इन्द्रको ब्रह्महत्याको पौराणिक कथासमेत जोडिएको छ। विभिन्न धार्मिक ग्रन्थमा उल्लेखित कथाअनुसार इन्द्रले भोगेको ब्रह्महत्याको दोषको केही अंश पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको र त्यसैसँग रजस्वलाको सम्बन्ध जोडिएको धार्मिक विश्वास छ।
पूजा सम्पन्न गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका परिकार खाएर एक छाक हविष्य बस्ने चलन पनि छ। ऋषि पञ्चमीका अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायतका ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुको भीड लाग्ने गर्छ। मन्दिर पुग्न नसक्ने महिलाले भने नदी किनार वा घरमै सप्तऋषिको पूजा आराधना गर्ने गरेका छन्।
.gif)

.png)

