नेपाल संवत् र म्ह पूजामा प्रधानमन्त्री बालेनको शुभकामना, मौलिक संस्कृति जोगाउन आग्रह


२०८३ कार्तिक २४ मंगलबार ०८:०७ बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७ तथा म्ह पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।

नेपाल संवत् चन्द्रमामा आधारित मौलिक संवत् भएको भन्दै उनले यसले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने बताएका छन् । 

प्रधानमन्त्री शाहले म्ह पूजाको सांस्कृतिक महत्त्व पनि उल्लेख गरेका छन् । नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने म्ह पूजामा आफ्नै शरीर र चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने परम्परा रहेको उनले बताएका छन् ।

‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ उनले भनेका छन् ।

यस्तो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।

त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारको महत्त्व उल्लेख गर्दै प्रधानमन्त्री शाहले भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँग यसको सम्बन्ध रहेको बताएका छन् ।

यस दिन कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउनुका साथै हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले स्मरण गराएका छन् ।

हिजो भैलोका भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्नुपर्ने उनको सन्देश छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७