ट्रम्प लगत्तै बेइजिङ ओर्लिए पुटिन

बेइजिङमा पुटिन र सीको भेट: बन्ला त ५० अर्ब घन मिटरको ग्यास पाइपलाइन ?


२०८३ जेठ ६ बुधबार ०९:३५ बजे

काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न भएलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो महत्त्वपुर्ण राजकीय भ्रमणका लागि बेइजिङ आइपुगेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा मङ्गलवार अबेर राति बेइजिङ ओर्लिएका पुटिन र सीबीच बुधबार शीर्ष द्विपक्षीय भेटवार्ता हुँदैछ। सन् २०२६ मा यी दुई शक्तिशाली नेताहरूबीच हुन लागेको यो पहिलो प्रत्यक्ष संवाद हो।

पश्चिमा देशहरूले मस्कोविरुद्ध लगाएको कडा नाकाबन्दीका बीच चीन रूसको प्रमुख खरिदकर्ता र रणनीतिक सहयोगी बन्दै आएको छ। यही पृष्ठभूमिमा पुटिनले यो बेइजिङ भ्रमणका क्रममा रूस र चीनबीचका केही 'महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरू' मा केन्द्रित रहेर संवाद अगाडि बढाउने क्रेमलिनले संकेत गरेको छ।

रूस–चीनबीच 'सद्भावना र मैत्रीपूर्ण सहकार्य सन्धि' भएको २५औँ वर्षगाँठ तथा २१औँ शताब्दीका लागि रणनीतिक साझेदारी स्थापना भएको ३० वर्ष पुगेको विशेष अवसर पारेर यो भ्रमण तय गरिएको हो। दुई नेताहरूबीच हुने वार्तामा देशहरूबीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने र वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक मुद्दाहरूमा व्यापक छलफल हुने रूसी समाचार संस्था तासले उल्लेख गरेको छ।

भ्रमणको मुख्य आकर्षण ऊर्जा आपूर्ति र नयाँ व्यापारिक मार्ग हुनेछ। वर्षौँदेखि रोकिएको 'द पावर अफ साइबेरिया २' पाइपलाइन निर्माणलाई यो वार्ताले गति दिने अपेक्षा गरिएको छ। जसबाट वार्षिक ५० अर्ब घन मिटर प्राकृतिक ग्यास रूसले चीनलाई आपूर्ति गर्न सक्नेछ. यसले स्ट्रेट अफ होर्मुजको संकटमाझ चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्लेषण गरिएको छ।

चीनको विदेश मन्त्रालयले रूसी राष्ट्रपतिको यो २५औँ औपचारिक भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने र विश्व राजनीतिमा सकारात्मक ऊर्जा र स्थिरता प्रवाह गर्ने दाबी गरेको छ। बेइजिङ ओर्लिँदा पुटिनलाई चिनियाँ विदेश मन्त्री वाङ यी र सैनिक टुकडीले भव्य स्वागत गरेका थिए।

यो दुई दिने व्यस्त भ्रमणका क्रममा दुई मुलुकबीच करिब ४० वटा अन्तरसरकारी, अन्तरविभागीय तथा व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर गर्ने अन्तिम तयारी छ। तीमध्ये २१ वटा सम्झौतामा दुवै राष्ट्रपति आफैँ उपस्थित भएर हस्ताक्षर गर्नेछन् भने 'समग्र साझेदारी र रणनीतिक सहकार्य' सुदृढ गर्न संयुक्त वक्तव्य समेत जारी गरिनेछ. यसका साथै दुवै देशले सन् २०२६–२०२७ का लागि अन्तरसांस्कृतिक शिक्षा वर्षको संयुक्त शुभारम्भ समेत गर्ने तय भएको छ।

भ्रमणका क्रममा पुटिनले सन् २००० मा आफू बेइजिङ आउँदा बालक उमेरमा भेटेका चिनियाँ इन्जिनियर पेंग पाईसँग पनि विशेष भेटघाट गर्नेछन्। पेंगले सोही भेटबाट प्रेरित भएर सन् २००७ देखि २०१३ सम्म मस्कोस्थित सडक तथा अटोमोबाइल प्राविधिक विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको स्मरण गरेका छन्।

आजै साँझ रूसी राष्ट्रपति पुटिनले चिनियाँ प्रधानमन्त्री ली च्याङसँग छुट्टै भेटवार्ता गर्नेछन्। त्यसपछि रणनीतिक सहकार्य र मैत्री सन्धिको उत्सव मनाउन आयोजना हुने विशेष स्वागत समारोह र रात्रिभोजमा उनी सहभागी हुनेछन। जहाँ दुवै देशका व्यवसाय, सञ्चार र शिक्षा क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। भ्रमणको अन्त्यमा राष्ट्रपति सी र पुटिनबीच सिमित प्रतिनिधिमण्डलसहित चियापान र बन्द कोठाभित्र विशेष छलफल हुने कार्यतालिका रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७