आजदेखि चन्द्रकुवेर खापुङको कमाण्डमा नेपाल प्रहरी
खापुङ सम्भवत आईजीपी इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहनेछन् । ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन्

काठमाडौं : नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपीं) चन्द्रकुवेर खापुङले आज कार्यभार सम्हाल्ने भएका छन्।
बिहीबार बिहान साढे नौ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएपछि उनले प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा निस्किनुअघि शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बैठकले १९ भदौबाट लागु हुने गरी ज्येष्ठता र वरिष्ठताका आधारमा खापुङलाई नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
२०५१ सालका प्रहरी निरीक्षकको विज्ञापनबाट खापुङ नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । २०५१ ब्याचका प्रहरी निरीक्षकमध्ये वसन्तबहादुर कुँवर आईजीपी भएर गएको चैत ४ गते अवकाश गएका थिए । उनकै वैकल्पिक दीपक थापा पनि साढे ५ महिना आईजीपी बनेर अवकाश जादैछन् । यही ब्याच वैकल्पिकमा परेका खापुङ प्रहरी महानिरीक्षक बनेका हुन् ।
खापुङले २०५१ सालमै खुलेको विज्ञापनमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका थिए । तर एउटै विज्ञापनमा प्रतिस्पर्धा गरेकामध्ये पहिलो लट वसन्तबहादुर कुँवरसहित २०५१ चैत ५ गते भर्ना भए । यो लटबाट कुँवर आईजीपी बने । त्यसपछि वैकल्पिक सूचीमा रहेका दीपक थापा, टेकबहादुर तामाङसहित २०५२ भदौ १९ गते नियुक्त भए । यो टोलीबाट थापा आईजीपी बने ।
त्यसको अढाई महिनापछि २०५२ कात्तिक २७ गते खापुङसँगै लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल नियुक्त भए । लालमणि आचार्य एआईजीको उमेर हदका कारण जेठमै अवकाश भइसकेका छन् । पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएपछि खापुङ आफ्नो ब्याचका एक मात्रै आईजीपी दाबेदार भए ।
बेदाग र निष्कलङ्ग प्रहरी अधिकृत
इन्सपेक्टर रहदा पूर्वको बेलबारी, डिएसपी रहदा दरबारमार्ग लगायतको जिम्मेवारी सम्हाले । एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हाले ।
यसैगरी खापुङले यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको, यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कमर्चारी प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका छन् ।
खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै पनि विवादमा परेका छैनन्। खापुङले नेपाल प्रहरीमा बेदाग र निष्कलङ्ग प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
खापुङ सम्भवत आईजीपी इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहनेछन् । ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् । नयाँ प्रहरी ऐन जारी नभए उनी २ महिना ९ दिनका लागि उनी आईजी बन्ने सम्भावना रहन्छ । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरण शमशेर जबरा प्रहरी प्रमुख बनेका थिए । २८ चैत २०१२ मा आईजीपी बनेका उनी ३१ चैत २०१२ सम्म आईजीपी बनेका थिए ।
खापुङपछि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एआईजीपी सिद्धिविक्रम शाहदेखि २०५४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएर एआईजीपी भएका दानबहादुर कार्की, राजन अधिकारी आईजीपीको प्रतिस्पर्धामा छन् ।
यदि शाह कात्तिकमा आईजीपी भए उनीपछिको आईजीपी बन्ने बाटो अधिकारी, कार्कीको टोलीलाई कायम रहनेछ । शाह अहिलेकै ऐन अनुसार २०८३ पुस ५ गतेसम्म मात्रै सेवामा रहनेछन् ।