मन्त्रिपरिषद्का ६ निर्णयः सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउन नियमावली
काठमाडौं : सरकारले सरकारी निर्णय प्रक्रियालाई थप सरल, व्यवस्थित र डिजिटल प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ नियमावली स्वीकृत गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि नियमावली स्वीकृत गरिएको जानकारी दिएका हुन्।
यस्ता छन् मुख्य निर्णयः
- सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत।
- धितोपत्रको लाभमा अग्रिम करको दर निर्धारण। प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी स्वामित्वमा राखेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखेको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम।
- नेपाल न्याय सेवा, न्याय समूहका तीन अधिकृत विशिष्ट श्रेणीमा बढुवा। खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा।
- साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको बीमा तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउने निर्णय। कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने व्यवस्था गर्न आदेश जारी गर्ने।
- चक्रिय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत।
- सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा। नेपाल प्रशासन सेवाका पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय।
.gif)

.png)

