ग्लोबल आइएमई बैंकद्वारा बाढीपीडितका लागि ५ करोड सहयोग घोषणा


२०८३ भदौ ११ बिहीबार १३:३० बजे

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडले यही अगस्ट १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि ५ करोड रुपैयाँ आर्थिक सहायता घोषणा गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। सहयोग रकम बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनामा प्रयोग गरिने बैंकले जनाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनामा समेत व्यापक क्षति पुर्‍याएको छ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत घोषणा गरिएको सहयोगले खोज तथा उद्धार अभियान, घाइतेको उपचार, विस्थापित नागरिकका लागि खाद्यान्न तथा आश्रयको व्यवस्था र क्षतिग्रस्त पूर्वाधारको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

राष्ट्रिय संकट तथा प्राकृतिक विपत्तिको समयमा नागरिकको पीडा न्यूनीकरण गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण दायित्व भएको बैंकले जनाएको छ। बैंकले यसअघि पनि देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायतका विपत्तिका समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ। हाल बैंकले ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत विभिन्न मुलुकबाट नेपालमा औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउने सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७