बीभत्स तस्बिर सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएको र खोजी तथा उद्धार कार्य जारी रहेको भन्दै नेपाल प्रहरीले सामाजिक सञ्जालमा क्षतिग्रस्त शव तथा बीभत्स तस्बिर जथाभावी पोस्ट नगर्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार सूचना जारी गर्दै विपद्का बेला क्षतिग्रस्त शव तथा बीभत्स तस्बिर सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय सिर्जना हुनसक्ने जनाएको हो। प्रहरीले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै यस्ता सामग्रीको अनावश्यक प्रचार–प्रसार नगर्न र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण दर्जनौँ व्यक्ति अझै सम्पर्कविहीन रहेको तथा खोजी तथा उद्धारका क्रममा ठूलो संख्यामा मानिसको उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीमा फसेका तथा जोखिममा परेका व्यक्तिको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहकार्यमा खोजी तथा उद्धार कार्य जारी छ।
प्रहरीले विपद्को समयमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न, अपुष्ट सूचना सम्प्रेषण नगर्न तथा पीडित र उनीहरूका परिवारजनको संवेदनशीलतालाई सम्मान गर्न सबैमा अनुरोध गरेको छ।
.gif)

.png)

