रसुवागढी नाकाको मितेरी पुल सञ्चालनमा
चीनतर्फ केरूङ प्रस्थान गरे कन्टेनर, भित्रिए ३३ सवारी
रसुवा: बेलीब्रिजको प्राविधिक परीक्षणका लागि विगत चार दिनदेखि रोकिएको रसुवागढी नाकाको मितेरी पुल आज (बिहीबार) देखि पुनः सञ्चालनमा आएको छ। चिनियाँ प्राविधिकले पुलको सफलतापूर्वक परीक्षण गरी नट-बोल्ट कस्ने लगायतका मर्मत कार्य सम्पन्न गरेपछि नाकाबाट सवारीसाधनको आवतजावत सुचारु भएको हो।
गत वर्ष असार १५ गतेदेखि बन्द रहेको उक्त नाकाबाट आजदेखि नै केरूङतर्फ २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन प्रस्थान गरेका छन्। जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार, आजै चीनबाट स्याउ, सुन्तला, अङ्गुर र ड्राइगनफ्रुट बोकेका ३३ वटा सवारीसाधन नेपाल भित्रिएका छन्।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पक्की पुल बगाएपछि तत्काल आवतजावतका लागि निर्माण गरिएको बेलीब्रिजको भारवहन क्षमता र सुरक्षा परीक्षण गर्न चिनियाँ पक्षले आवागमनमा रोक लगाएको थियो।
पुल सञ्चालनमा आएसँगै सामग्री आयात–निर्यात सहज भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो। यद्यपि, चिनियाँ प्राविधिकले सुरक्षाका दृष्टिकोणले १४ फिटभन्दा अग्लो लोड भएका सवारीसाधन सञ्चालन गर्न नमिल्ने चेतावनी दिएका छन्।
सोही अनुसार दुवैतर्फ १४ फिटको उचाइमा डण्डी गाडिएको छ। प्रहरीले उक्त उचाइभन्दा अग्ला सामान बोकेर नआउन तथा नजान सम्बन्धित सबै सरोकारवालालाई सचेत गराएको छ।
.gif)

.png)

