ओलीको राजीनामा दबाब अस्वीकार गर्दै हिक्मत कार्की, नेकपाले दियो साथ
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा मागेपछि दबाबमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पद नछाड्ने अडान लिएका छन् ।
सत्ता साझेदार नेकपाका नेताहरूसँग मंगलबार भएको छलफलमा उनले पार्टीले संस्थागत निर्णय नगरेसम्म राजीनामा नदिने बताएका हुन् ।
छलफलमा नेकपाका नेताहरूले पनि मुख्यमन्त्री कार्कीलाई तत्काल राजीनामा नदिन र सरकारलाई निरन्तरता दिन सुझाव दिएका छन् । तर, एमालेको आन्तरिक विवादका कारण सरकार परिवर्तन गर्नुपर्ने अवस्था आए आफूहरू त्यसको साक्षी नबस्ने नेकपाले स्पष्ट पारेको छ ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेको आन्तरिक किचलोका कारण सरकार परिवर्तन गर्नुपर्ने भए नेकपाकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताए ।
नेकपा कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले चुनावको मुखमा सरकार परिवर्तन गर्दा अस्थिरताको सन्देश जाने भएकाले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । ‘सरकार फेर्नै खोजे हामी आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छौं,’ नेम्वाङले भने।
एमाले अध्यक्ष ओली भने कार्कीलाई हटाएर सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । तर संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकार भएकाले कार्कीलाई हटाउन सहज छैन। उनले संसद्बाट हालै विश्वासको मतसमेत लिएका छन् ।
एमाले संस्थापन पक्षले यसअघि कार्कीलाई संसदीय दलको नेताबाट हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो । बहुमत नपुग्ने देखिएपछि उक्त प्रयास अघि बढ्न सकेन। एमाले सचिवालयका अधिकांश नेता पनि कार्कीलाई तत्काल हटाउने पक्षमा नरहेको बताइएको छ ।
कार्कीले अध्यक्षको निर्देशनभन्दा पार्टीको संस्थागत निर्णयलाई प्राथमिकता दिँदै आएका छन् । एमाले अध्यक्ष ओली, कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायतका नेता भने उनलाई पदबाट हटाउने पक्षमा छन् ।
मुख्यमन्त्री निकट एक सांसदले जबरजस्ती कार्कीलाई हटाउन खोजिए एमाले संसदीय दलभित्र विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । धारा १६८ को उपधारा ५ अन्तर्गत बन्ने सरकारमा पार्टीको ह्विप लागू नहुने भएकाले कार्की पक्षका १५ सांसदले नेकपालाई समर्थन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।
मंगलबारको छलफलमा नेकपाबाट प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, आङ्बो र नेम्वाङ सहभागी थिए । एमालेबाट मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र सांसद रेवतीरमण भण्डारी सहभागी थिए ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा ओली पराजित भएपछि उनी र कार्कीबीचको सम्बन्ध चिसिएको थियो । त्यसपछि ओलीले कार्कीलाई हटाएर लिम्बू समुदायका नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास थालेको बताइएको छ ।
.gif)

.png)




