बाढीपहिरोको असर : मुख्य सडक बन्द, कतिपयमा समय तोकेर सवारी सञ्चालन

बीपीदेखि अरनिको राजमार्गसम्म अवरुद्ध, यात्रुलाई सतर्क रहन आग्रह


२०८३ भदौ ५ शुक्रबार ०८:५६ बजे

काठमाडौं : वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुनेछ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। यता, इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोसहित लेदो खसेपछि तथा लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि दुई स्थानमा अवरुद्ध भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेको छ भने गोसाइँकुण्ड गाउँपालिका–२ स्याउ पार्किङ क्षेत्रमा ढुंगासहित पहिरो खसेको छ।

यस्तै, रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। लमजुङको बेंसीसहर–मनाङ सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

वर्षा जारी रहेकाले पहाडी सडकखण्डमा थप बाढी, पहिरो र सडक कटानको जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७