बाढी–पहिरोबाट कहाँ-कहाँ सडक अवरुद्ध छ?

कहाँ चल्दैछ एकतर्फी र कहाँ पूर्ण बन्द ?


२०८३ श्रावण १७ आइतबार ०८:१४ बजे

काठमाडौं :  निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबार बिहानसम्म देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–तालतुङ सडकखण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकको वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। त्यहाँ वैकल्पिक मार्गसमेत प्रयोगमा रहेको जनाइएको छ।

बागमती प्रदेशमा वर्षाको प्रभाव बढी देखिएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बिहीबार साँझदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको हेटौंडा–भीमफेदी–बागमती–ललितपुर (कान्तिलोकपथ) सडकखण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको छ। भीमफेदी गाउँपालिका–८ भैँसेडाँडादेखि ललितपुरतर्फ भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

मकवानपुरकै बकैया गाउँपालिका–११ घट्टेपाखामा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ।

गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा वर्षाका कारण नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुङ्गेखोला क्षेत्रमा पहिरो खस्दा सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

गुल्मीमा पनि तीन स्थानमा पहिरोका कारण सडक प्रभावित भएका छन्। कालीगण्डकी गाउँपालिका–२ रानीवास तथा वडा नं. ५ पुर्तिघाट क्षेत्रमा कालीगण्डकी करिडोरमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। रुरु गाउँपालिका–२ साउने क्षेत्रमा रिडी–वामी सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण प्रभावित सडकमा यात्रा गर्दा सावधानी अपनाउन र यात्राअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७