१११ हाइड्रो कम्पनीमध्ये ९१ नाफामा, साहासको कमाइ सबैभन्दा धेरै
ब्याजदर घट्दा हाइड्रोपावरको नाफामा छलाङ, औसत वृद्धि ४७१ प्रतिशत
काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावटले जलविद्युत् कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १११ वटा जलविद्युत् कम्पनीको खुद नाफा औसतमा ४७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये ९१ वटा नाफामा छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्। उत्पादन क्षमता बढ्नु, सञ्चालन खर्च नियन्त्रण हुनु र कर्जाको ब्याजदर घट्नुले जलविद्युत् कम्पनीहरूको वित्तीय अवस्थामा सुधार आएको देखिएको छ।
खुद नाफा आर्जन गर्ने कम्पनीमध्ये साहास ऊर्जा लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सोलु हाइड्रोपावर लिमिटेडले १११ करोड ३८ लाख रुपैयाँ र अपी पावर कम्पनी लिमिटेडले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यस्तै, माथिल्लो तामाकोशी र माउन्टेन इनर्जी नेपाल लिमिटेड पनि उच्च नाफा कमाउने कम्पनीको सूचीमा छन्। आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनु तथा विद्युत् बिक्रीमा सुधार आउनुले कम्पनीहरूको आम्दानी बढाएको देखिन्छ। जलविद्युत् कम्पनीहरूको नाफा बढ्नुको प्रमुख कारण कर्जाको ब्याजदर घट्नु रहेको कम्पनी सञ्चालकहरू बताउँछन्।
बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता बढेसँगै कर्जाको ब्याजदर घट्दा कम्पनीहरूको वित्तीय लागत कम भएको छ। यसको प्रत्यक्ष प्रभाव खुद नाफामा परेको हो। निर्माणाधीन आयोजनाहरू सञ्चालनमा आउनु, विद्युत् खरिद तथा बिक्री प्रक्रिया सहज हुनु, प्रशासनिक खर्चमा मितव्ययिता अपनाउनु र प्रसारण लाइनको पहुँच विस्तार हुनु पनि नाफा बढ्नुका कारण मानिएका छन्।
वित्तीय सूचकका आधारमा पनि केही कम्पनी सबल देखिएका छन्। साहास ऊर्जाको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ५८ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी ४५७ करोड ३८ लाख रुपैयाँ रहँदा जगेडा कोषमा ३६८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
माउन्टेन इनर्जी नेपालको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ५८ पैसा रहेको छ। राधी विद्युत् कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७१ पैसा रहेको छ। जलविद्युत् कम्पनीहरूको नाफा, जगेडा कोष, प्रतिसेयर आम्दानी र नेटवर्थमा देखिएको सुधारले ऊर्जा क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढाउन सक्ने देखिएको छ।
.gif)

.png)

