इतर पक्षले जिद्दी र अहंकार छाड्नुपर्छ, गगनलाई स्वीकारौँ : सुजाता कोइराला


२०८३ श्रावण २९ शुक्रबार १४:२५ बजे

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संस्थापनइतर पक्षले पार्टी सभापति गगन थापालाई स्वीकार गरेर एकताबद्ध हुँदै अघि बढ्नुपर्ने बताएकी छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले गगन थापाले पार्टीको नेतृत्व गर्न सक्ने बताउँदै युवाहरूलाई समेत कांग्रेसमा जोड्दै लगेको दाबी गरिन्।

उनले संस्थापनइतर पक्षलाई जिद्दी र अहंकार त्यागेर पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्न आग्रह गरिन्। ‘इतर पक्ष जिद्दी र अहंकार गरेर बस्नु भएन, सभापतिलाई स्वीकार्नुपर्छ र एकजुट भएर पार्टीलाई बचाउनुपर्छ,’ उनले भनिन्, ‘हामी सबै जना एकजुट होऔँ। पदका लागि पार्टीभित्र यो के–के भइरहेको छ? युवाहरूलाई अघि बढाउनुपर्छ। युवाले सक्छन् भन्ने विश्वास लिएर अघि बढ्नुपर्छ।’

कोइरालाले आफूहरूजस्तै उमेरका नेताहरूले अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ पुस्तालाई अघि बढाउनुपर्ने बताइन्। सबै पक्षबीच सहमति र सहकार्य भए मात्रै पार्टीमा एकता कायम हुने उनको भनाइ थियो।

सुजाता केन्द्रीय समिति बैठकमा बोलिरहँदा कोइराला परिवारकै नेताहरू शशांक कोइराला र शेखर कोइराला भने संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी छन्। सुजाताले गगन थापा नेतृत्वको कांग्रेसले राम्रो काम गर्दै अघि बढिरहेको दाबीसमेत गरेकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७