सिप्रदीको कपन वर्कसपमा ८६.४ किलोवाट क्षमताको सोलार प्लान्ट सञ्चालनमा

वार्षिक १ लाख ४० हजार युनिट स्वच्छ विद्युत उत्पादन हुने, एआईमा आधारित प्रविधि प्रयोग


२०८३ श्रावण २७ बुधबार ०८:३८ बजे

काठमाडौं : सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ।

प्लान्टको एक समारोहबीच सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे।

उद्घाटन समारोहमा सिप्रदीका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री–वितरणसँगै त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङ प्रक्रियालाई समेत वातावरणमैत्री बनाउने कम्पनीको लक्ष्य रहेको बताए।

उनले कपनस्थित ईभी वर्कसपमा सौर्य ऊर्जा प्रणाली जडान हुनु कम्पनीको दिगो तथा स्वच्छ ऊर्जातर्फको यात्रामा महत्वपूर्ण कदम भएको उल्लेख गरे। ईभी आफैँ वातावरणमैत्री भए पनि त्यसको चार्जिङदेखि मर्मत र सर्भिसिङसम्मका गतिविधि स्वच्छ ऊर्जाबाट सञ्चालन गर्न सके मात्र यसको वातावरणीय लाभ पूर्ण हुने उनको भनाइ थियो।

प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा उपलब्ध गराउने स्रोत पनि स्वच्छ हुनुपर्ने बताए। सौर्य ऊर्जामार्फत ईभीको सम्पूर्ण इकोसिस्टमलाई थप वातावरणमैत्री बनाउने उद्देश्यले परियोजना अघि बढाइएको उनले जानकारी दिए।

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सजस्ता ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तार गर्ने सम्भावना देखाएको गर्गले बताए। उनका अनुसार परियोजनाले विद्युत् खर्च घटाउनुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रमा हुने कार्बन उत्सर्जन न्यूनीकरणमा समेत योगदान पुर्‍याउनेछ।

सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।

प्लान्टबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। यसबाट कार्बन उत्सर्जन न्यूनीकरणमा समेत उल्लेख्य योगदान पुग्ने कम्पनीको दाबी छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला चार्जिङ, सर्भिसिङ र मर्मतसम्भारमा समेत नवीकरणीय ऊर्जाको प्रयोग बढाउन परियोजनाले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिप्रदी र प्राइम रिन्युएबल्सको यो सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तारसँगै नेपाललाई शून्य उत्सर्जनतर्फ अघि बढाउने लक्ष्यमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७