दिउँसो डाक्टर-नर्स कुटिए, राति फेरि तोडफोड
दिउँसो डाक्टर–नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
काठमाडाैं : शुक्रबार दिउँसो डाक्टर र नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ। पलाँता गाउँपालिका–९, थिर्पुस्थित अस्पतालमा शुक्रबार राति करिब सवा ९ बजे स्थानीय तपेन्द्र बम प्रवेश गरी कर्मचारीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेका हुन्।
बमले अस्पतालका अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका छन्। उनले अस्पतालको ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, झ्याल तथा फार्मेसीमा समेत तोडफोड गरेको अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैनले बताए।
डा. रैनका अनुसार बमले ‘ओइ मधेसी, बाहिर निस्की’ भन्दै अस्पताल प्रवेश गरेका थिए। बाहिरको ढोका तोडेर भित्र प्रवेश गरेका उनलाई रोक्न खोज्दा सुरक्षा गार्डमाथि समेत कुटपिट भएको उनले बताए।
बमले फार्मेसीको ढोका फोरेर भित्र प्रवेश गरी औषधि राखिएका दराज र र्याकसमेत लडाएको सीसीटीभी फुटेजमा देखिएको डा. रैनले बताए।यसअघि शुक्रबार दिउँसो अस्पतालमै मेडिकल अफिसर डा. रैन र स्टाफ नर्स शान्ता गिरीमाथि कुटपिट भएको थियो। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयलाई लिएर उनीहरूमाथि आक्रमण भएको बताइएको छ।
दिउँसोको घटनाबारे छलफल गर्न साँझ डा. रैनसहित अस्पतालका कर्मचारी प्रहरी चौकी पुगेका थिए। छलफलमा आक्रमणमा संलग्न व्यक्ति, स्थानीय र जनप्रतिनिधिसमेत सहभागी थिए।
स्थानीय, जनप्रतिनिधि र प्रहरीले घटना मिलाउन दबाब दिएको डा. रैनको आरोप छ। तर आफूहरूले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मिल्न अस्वीकार गरेको उनले बताए।
छलफलपछि राति पौने ९ बजेतिर आफूहरू अस्पताल फर्किएको र त्यसको केही समयमै बम अस्पताल प्रवेश गरी आक्रमण तथा तोडफोड गरेको उनले बताए। घटनापछि प्रहरीले बमलाई नियन्त्रणमा लिएको डा. रैनले जानकारी दिए।
लगातारको आक्रमणपछि आफू अस्पतालमा बसेर काम गर्ने अवस्थामा नरहेको उनले बताएका छन्। पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेका अनुसार डा. रैनलाई प्रहरीको सहयोगमा अस्पतालबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
.gif)

.png)

