हिम पहिरोमा ज्यान गुमाएका नेपाली आरोहीप्रति सरकारद्वारा दुःख व्यक्त


२०८३ श्रावण १७ आइतबार १५:४८ बजे

काठमाडौं ।  नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा प्रख्यात नेपाली आरोही निर्मल पुर्जा “निम्स दाइ” सहित पुरबहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पालगायत ब्रोड पीक आरोहण दलका सदस्यहरूको दुःखद निधनले नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिने क्रममा हिम पहिरो जाँदा आरोहण टोली सम्पर्कविहीन भएको थियो। घटना सार्वजनिक हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली उद्धार टोलीले खोज तथा उद्धार अभियान तीव्र बनाएका थिए।

सरकारले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार कार्यमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहस, समर्पण र अथक प्रयासको उच्च प्रशंसा गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ “युक्ता” र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्य आरोहीहरूको खोजी कार्य निरन्तर जारी छ।

मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावास, इस्लामाबादमार्फत दिवंगत नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन आवश्यक समन्वय तथा सहजीकरण भइरहेको पनि जनाएको छ।

नेपाल सरकारले दिवंगत आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७