मलेसिया रोजगारीमा ‘सिण्डिकेट’प्रति द रिभरका अध्यक्ष रघु पुरीको आपत्ति
‘उक्त सूचीकरणमा मेरो वा मेरो संस्थाको कुनै संलग्नता, सहमति वा समर्थन छैन। सीमित संस्थालाई मात्र अवसर दिने यस्तो प्रक्रियालाई म स्पष्ट रूपमा अस्वीकार गर्छु'
काठमाडौं : मलेसियाको वैदेशिक श्रमिक व्यवस्थापन प्रणालीअन्तर्गत नेपालबाट श्रमिक पठाउन २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गरिएको विषयप्रति द रिभर ओभरसिजका अध्यक्ष रघुनाथ पुरीले असहमति जनाएका छन्।
मलेसियाको वैदेशिक श्रमिक व्यवस्थापनसम्बन्धी संयन्त्रले शुक्रबार आफ्नो वेबसाइटमा नेपालबाट छनोट भएका भनिएका २५ वटा म्यानपावर कम्पनीको सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा द रिभर ओभरसिजको नामसमेत समावेश भएपछि अध्यक्ष पुरीले आफू वा आफ्नो संस्थाको उक्त सूचीकरण प्रक्रियामा कुनै संलग्नता, सहमति वा समर्थन नरहेको स्पष्ट पारेका हुन्।
वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकारसमेत रहेका पुरीले शनिबार जारी गरेको वक्तव्यमा सीमित संख्याका म्यानपावर कम्पनीलाई मात्र छनोट गरी अन्य योग्य व्यवसायी संस्थालाई प्रक्रियाबाट बाहिर राख्ने व्यवस्था वैदेशिक रोजगार क्षेत्रको स्वस्थ, पारदर्शी र प्रतिस्पर्धात्मक प्रणालीको हितमा नरहेको बताएका छन्।
‘उक्त सूचीकरणमा मेरो वा मेरो संस्थाको कुनै संलग्नता, सहमति वा समर्थन छैन,’ पुरीले भनेका छन्, ‘म उक्त सीमित सूचीकरणप्रति स्पष्ट रूपमा असहमति जनाउँछु।’
उनले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित संख्याका व्यवसायी संस्थामा मात्र सीमित गर्न नहुने धारणा राखेका छन्। प्रचलित कानुन, नीति, मापदण्ड र प्रक्रिया पूरा गरेका सबै वैदेशिक रोजगार व्यवसायी संस्थाले मलेसियालगायत वैदेशिक रोजगार गन्तव्यमा समान र निष्पक्ष रूपमा श्रमिक पठाउने अवसर पाउनुपर्ने उनको भनाइ छ।
पुरीले सीमित व्यवसायीलाई मात्र अवसर दिने व्यवस्था लागू भएमा वैदेशिक रोजगार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र एकाधिकारको अवस्था सिर्जना हुन सक्ने भन्दै त्यसको प्रत्यक्ष असर नेपाली श्रमिकको रोजगारी प्रक्रियामा पर्न सक्ने बताएका छन्। ‘व्यवसाय स्वस्थ हुनुपर्छ, प्रक्रिया पारदर्शी हुनुपर्छ, प्रतिस्पर्धा निष्पक्ष हुनुपर्छ र श्रमिकको हित सर्वोच्च हुनुपर्छ,’ उनले भनेका छन्।
मलेसिया नेपाली श्रमिकका लागि महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्य रहेको उल्लेख गर्दै पुरीले हजारौँ नेपालीको रोजगारी र परिवारको जीविकोपार्जनसँग जोडिएको श्रम बजारलाई सीमित व्यवसायीको दायरामा राख्न नहुने बताएका छन्। उनले यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायी संघलगायत सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने मागसमेत गरेका छन्।
पुरीले आफ्नो र द रिभर ओभरसिजको नाम २५ वटा संस्थाको सूचीमा परेको विषयलाई लिएर कुनै भ्रममा नपर्न सरोकारवालालाई आग्रह गरेका छन्। साथै, आफू र आफ्नो संस्था सरकारका प्रचलित कानुन, नीति तथा नियमको पूर्ण पालना गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
मलेसियामार्फत नेपालबाट श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनी छनोट गरिएको विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार व्यवसायी क्षेत्रमा भने बहस र असन्तुष्टि बढेको छ।
.gif)

.png)

