‘गो ब्याक गोविन्द केसी’ नारासहित धनगढीमा प्रदर्शन
धनगढी : कैलालीको धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध ‘गो ब्याक गोविन्द केसी’ भन्दै प्रदर्शन गरिएको छ। डा. केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै अनशनस्थलबाहिर प्रदर्शन भएको हो।
पाँचबुँदे माग अघि सार्दै डा. केसी बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनशनमा छन्। उता, उनको स्वास्थ्य अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गएको चिकित्सकहरूले बताएका छन्।
आज बिहान सार्वजनिक गरिएको स्वास्थ्य विवरणअनुसार डा. केसीको ब्लड सुगर हिजो राति ५६ एमजी/डीएलबाट घटेर आज बिहान ५० एमजी/डीएल पुगेको छ। साथै, रक्तचापमा उतारचढाव, मांसपेशी बाउँडिने समस्या, बोल्न असहज हुने तथा हिँडडुल गर्न कठिनाइ भइरहेको चिकित्सकले जनाएका छन्। खुट्टाको शल्यक्रिया गराइसकेकाले उनलाई बाथरुम जानसमेत समस्या भइरहेको छ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा स्वास्थ्य टोलीले नियमित स्वास्थ्य परीक्षण गरिरहेको छ। चिकित्सकहरूले उनको अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका छन्।
यद्यपि, डा. केसीले चिकित्सकको सुझावबारे आफूले विचार गर्ने प्रतिक्रिया दिएका छन्। उता, अनशनस्थल बाहिर विरोध प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।
.gif)

.png)

