कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। गत असार ३२ गते नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का १६ जना सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको थियो।
केन्द्रीय राजनीतिक समीकरणमा आएको फेरबदलसँगै कर्णालीमा पनि सत्ता सहकार्य टुट्न पुगेको थियो। यसअघि असार ३१ गते कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक राजीनामा दिएका थिए।
कँडेल २०८० चैत २७ गते तत्कालीन माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि २०८१ साउनमा नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो। तर, पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण नभएको र एमालेले सहकार्यमा धोका दिएको आरोप लगाउँदै कांग्रेसले सरकार छाडेको थियो। त्यसको भोलिपल्टै कांग्रेस र नेकपाबीच नयाँ सत्ता सहकार्यको सहमति जुट्दै मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
.gif)

.png)

