महाकाली गाइडबण्ड पुनर्निर्माण तीव्र, वर्षाअघि काम सक्न सैनिक निर्देशन
महेन्द्रनगर । कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको संरक्षणका लागि पुनर्निर्माण भइरहेको गाइडबण्ड (ड्याम)को प्रगतिबारे नेपाली सेनाको उच्च नेतृत्वले स्थलगत निरीक्षण गरेको छ।
नेपाली सेनाको युद्धकार्य निर्देशनालयका युद्धकार्य निर्देशक मनोज थापा नेतृत्वको टोलीले बिहीबार भीमदत्त नगरपालिका–१२ स्थित निर्माणस्थल पुगेर पुनर्निर्माणको प्रगति र वर्षायाममा हुनसक्ने सम्भावित विपद् न्यूनीकरणका तयारीबारे जानकारी लिएको हो।
निरीक्षणमा श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी बिजितराज रेग्मी, रणसिंह दलका गणपति प्रमुख सेनानी प्रकाश घिमिरे तथा बराहदलका गुल्मपति सेनानी अशोक शाही लगायत सहभागी थिए। टोलीले मनसुन सक्रिय भइरहेकाले पुनर्निर्माणको काम अझ तीव्र बनाउन निर्देशन दिएको जनाएको छ।
गत वर्षको बाढीले करिब ३०० मिटर गाइडबण्डमा क्षति पुर्याएपछि सरकारले उक्त क्षेत्रलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्दै पुनर्निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। हाल सो क्षेत्रमा चार सयभन्दा बढी सैनिक परिचालन गरी पुनर्निर्माणको काम भइरहेको छ।
नेपाली सेनाका अनुसार पुनर्निर्माण गर्नुपर्ने ३०० मिटर गाइडबण्डमध्ये हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। सेनाको जनशक्ति र सडक डिभिजन कार्यालयको व्यवस्थापकीय सहयोगमा पुनर्निर्माण भइरहेको हो।
श्री नं. २५ बाहिनी अड्डाले तत्काल थप क्षति हुन नदिन, निर्माणाधीन चार लेनको पुलको सुरक्षा सुनिश्चित गर्न तथा तटीय बस्ती जोगाउने उद्देश्यले पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।
उल्लेखनीय छ, चार लेनको पुलको करिब ९५ प्रतिशत निर्माण सम्पन्न भए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ) सम्बन्धी अन्योलका कारण निर्माण कम्पनी गत वर्षदेखि कामबाट बाहिरिएको थियो। त्यसपछि सरकारले सम्भावित बाढीजन्य जोखिम न्यूनीकरणका लागि नेपाली सेनालाई पुनर्निर्माणको जिम्मेवारी दिएको हो।
.gif)

.png)

