नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल


२०८३ असार २४ बुधबार ११:५२ बजे

भैरहवा  । चार वर्षअघि ठूलो अपेक्षाका साथ सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल अझै नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा छ। अत्याधुनिक पूर्वाधार, अन्तरराष्ट्रियस्तरको टर्मिनल भवन, आधुनिक उपकरण र अर्बौं रुपैयाँको लगानी भए पनि विमानस्थलले अपेक्षित रूपमा नियमित उडान सञ्चालन गर्न सकेको छैन।

हाल विमानस्थलमा कहिलेकाहीँ चार्टर उडान हुने गरे पनि नियमित अन्तरराष्ट्रिय सेवा पूर्ण रूपमा ठप्प छ। पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान सञ्चालन गरे पनि विन्टर सिड्युल समाप्त भएपछि सेवा रोकिएको हो। समर सिड्युल सुरु भइसकेकाले आगामी अक्टोबरसम्म कुनै नियमित अन्तरराष्ट्रिय उडान नहुने अवस्था बनेको छ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार समस्या यात्रु नभई यात्रु व्यवस्थापन र बजार संरचनामा रहेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिक, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी तथा जनरल सेल्स एजेन्ट (जिएसए) बीच प्रभावकारी समन्वय हुन नसक्दा जहाजमा पर्याप्त यात्रु जुटाउन कठिन भएको उहाँको भनाइ छ।

सरकारले ल्यान्डिङ शुल्क, नेभिगेसन शुल्क, यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट तथा इन्धनमा समेत सहुलियत दिएको भए पनि त्यसले मात्र एयरलाइन्सलाई आकर्षित गर्न नसकेको सरोकारवालाको निष्कर्ष छ।

पर्यटन व्यवसायीहरूका अनुसार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सबैभन्दा ठूलो अवरोध सरकारको नीतिगत अन्योल हो। काठमाडौँ केन्द्रित हवाई बजार, भारतीय वायुसेवा कम्पनीसँग आवश्यक कूटनीतिक पहलको अभाव, स्थानीय जिएसए प्रणाली नहुनु तथा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु नगर्नुले विमानस्थलको सम्भावना सीमित बनेको उनीहरूको भनाइ छ।

नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले सरकारले अन्तरराष्ट्रिय उडानलाई स्पष्ट रूपमा वर्गीकरण गरी बुद्ध सर्किट, धार्मिक पर्यटन र क्षेत्रीय बजार लक्षित एयरलाइन्सलाई भैरहवाबाट उडान गर्न नीतिगत व्यवस्था गर्नुपर्ने बताए। साथै भारतसँगको एयर सर्भिस सम्झौता परिमार्जन गरी दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोरलगायत सहरबाट सिधा उडान सुरु गर्नुपर्नेमा पनि जोड दिएका छन्।

व्यवसायीहरूले भैरहवामै श्रम स्वीकृति, मेडिकल परीक्षण, बायोमेट्रिक र भिसा सेवा उपलब्ध गराउन सके पश्चिम नेपालका हजारौँ वैदेशिक रोजगारीमा जाने श्रमिक यही विमानस्थल प्रयोग गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। यात्रु उडान तत्काल विस्तार गर्न कठिन भए कार्गो सेवा सञ्चालन गरेर पनि विमानस्थलको उपयोग बढाउन सकिने सुझाव निजी क्षेत्रले दिएको छ।

सन् २०२२ देखि २०२६ को मेसम्म अन्तरराष्ट्रियतर्फ एक हजार २१८ विमान आवागमन भए पनि जम्मा ६९ हजार ३१६ यात्रुले मात्र सेवा लिएका छन्, जुन विमानस्थलको क्षमताको तुलनामा निकै कम हो।

करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो। करिब ८०० बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा तीन किलोमिटर लामो रनवे, चार न्यारोबडी र एक वाइडबडी जहाज पार्किङ गर्ने क्षमता तथा आधुनिक अन्तरराष्ट्रिय पूर्वाधार उपलब्ध छन्। तर ती पूर्वाधारको पूर्ण उपयोग अझै हुन सकेको छैन।

सरकार, एयरलाइन्स, निजी क्षेत्र र छिमेकी भारतबीच प्रभावकारी समन्वय हुन सके मात्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले आफ्नो वास्तविक उद्देश्य पूरा गर्दै नेपालको दोस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७