सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन : लगानीकर्ताको हितमा इमानदारीपूर्वक काम गर्न आग्रह


२०८३ असार १५ सोमबार १०:५३ बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको हित र सुरक्षालाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै लगानीकर्ताको लगानी सुरक्षित राख्न र बजारमा विश्वासको वातावरण निर्माण गर्न आग्रह गरे।

मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई सेबोन अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछिको सम्बोधनमा अर्थमन्त्री वाग्लेले कुनै पनि लोभ, प्रलोभन वा बाह्य प्रभावमा नपरी काम गर्नुपर्नेमा जोड दिए।

उनले पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति समात्न सेबोनले प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना पेश गर्न निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले बजारमा अनावश्यक हल्ला र भ्रम फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

“कुनै पनि प्रभावमा नपरी लगानीकर्ताको हितको रक्षा गर्नुहोस्, सरकारले आवश्यक सबै सहयोग गर्छ,” उनले भने।

उनले मन्त्रालयबाट बोर्डको काममा हस्तक्षेप नहुने स्पष्ट पार्दै परिणाममुखी काम गर्न र प्रत्येक हप्ता बजारको अवस्थाबारे ब्रिफिङ दिन पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।

नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र निर्देशनअनुसार पुँजी बजार सुधार र विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार विगतमा भएका अध्ययन तथा सिफारिसलाई कार्यान्वयन गर्दै बजार सुधारको प्रक्रिया अगाडि बढाइनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७