मदन भण्डारीको हीरक जयन्ती: उत्सव कि क्रान्तिकारी आत्मसमीक्षाको घडी ?

किन अजेय छ जबज ?


२०८३ असार १४ आइतबार ११:३१ बजे

हिरक जयन्तीका अवसरमा जननेता मदन भण्डारीलाई यसरी सम्झना र सम्मान गरौँ:

निरंकुश पञ्चायतका विरुद्ध संयुक्त जनआन्दोलनको वैचारिक नेतृत्व : पहिलो, झापा आन्दोलनका माध्यमबाट पुनर्गठित कम्युनिष्ट आन्दोलनलाई उग्रवामपन्थी अतिवादी बाटोबाट मोडेर जनआन्दोलन र जनसंघर्षको बाटोमा अघि बढाउने कुराको उहाँले वैचारिक नेतृत्व गर्नुभयो। वामपन्थी आन्दोलनभित्र सदैव विवाद र अन्योलको विषय रहँदै आएको कार्यनीति र रणनीतिको प्रश्नलाई सही ढङ्गले समाधान गर्न उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो।

साथै, 'सही नीति भएर मात्र पुग्दैन, त्यसका लागि तदनुरूपको पहलकदमीको आवश्यकता पर्दछ' भन्ने मान्यताका आधारमा कमरेड पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिलाई उहाँले सफलतापूर्वक कार्यान्वयन गर्नुभयो। परिणामस्वरूप, वाममोर्चाको गठन र नेपाली कांग्रेससँगको संयुक्त मोर्चा निर्माण गरेर २०४६ सालको जनआन्दोलनलाई वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्नुभयो। उक्त आन्दोलनका माध्यमबाट उहाँले ३० वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसका सर्वोच्च नेतामार्फत सिङ्गो कांग्रेसलाई सहमत गराउनुभयो। फलस्वरूप, शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट नेपालमा बहुदलीय व्यवस्थाको स्थापना सम्भव भयो।

 संक्रमणकालीन राजनीतिको सही व्यवस्थापन र दूरदर्शिता

दोस्रो, जनआन्दोलनको सफलतापश्चात् त्यसको संक्रमणकालीन व्यवस्थापनमा पार्टीलाई सहभागी गराउने र नेतृत्व गर्ने कुरामा उहाँले साहसिक पहलकदमी लिनुभयो। अन्तरिम सरकार र संविधान निर्माणमा प्रत्यक्ष सहभागिताको कुरा परम्परागत कम्युनिष्ट आन्दोलनको मान्यताका हिसाबले निकै कठिन विषय थियो।

संविधान जारी भएपछि 'आलोचनात्मक समर्थन' गर्ने र प्रतिबन्धित तथा भूमिगत रूपमा क्रियाशील कम्युनिष्ट पार्टीलाई खुला गर्ने कुरा अहम् महत्त्वका विषय थिए। २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव निर्वाचित हुँदा नै उक्त पार्टी परम्परागत एकदलीय प्रणालीको मान्यताबाट बाहिर निस्कने प्रयत्न गरिसकेको थियो, जसलाई व्यवहारमा उतार्ने काम जननेता मदन भण्डारीले गर्नुभयो।

जननेता मदन भण्डारीको अगुवाइमा सार्वजनिक गरिएका 'नेपाल अधिराज्यको संविधान २०४७' माथिका २७ बुँदे असहमतिहरू नै पछि २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणाका आधार बन्न पुगे। यसले जननेता मदन भण्डारीको दूरदर्शितालाई प्रस्ट पार्दछ। फिलिपिनो कम्युनिष्ट पार्टीले तानाशाह मार्कोसको सत्ता ढाल्न महत्वपूर्ण भूमिका खेले पनि राजनीतिक परिवर्तनको संक्रमणकालीन व्यवस्थापनमा भूमिका निर्वाह गर्न नसक्दा कमजोर बन्न पुगेको थियो, जुनबाट उहाँले पाठ सिक्नुभएको थियो।

जनताको बहुदलीय जनवाद (जबज) को विकास : तेस्रो, जननेता मदन भण्डारीले सोभियत समाजवादको विघटन, नेपालको कम्युनिष्ट आन्दोलनका विशिष्ट अनुभव तथा नेपाली समाजका मौलिक विशेषताका आधारमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणको नेतृत्व गर्नुभयो। सोही क्रममा उहाँले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा 'जनताको बहुदलीय जनवाद' (जबज) को विकास गर्नुभयो, जसलाई समयक्रममा नेकपा (एमाले) ले मार्क्सवाद-लेनिनवादको सिर्जनात्मक विकासका रूपमा आत्मसात् गर्दै आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई राज्य सञ्चालनको मुख्य शक्तिका रूपमा स्थापित गर्ने कुरामा 'जबज' को अहम् भूमिका छ। मदन भण्डारीको नेतृत्वमा हासिल गरेको वैचारिक र राजनीतिक सफलता युरोपका कुनै मुलुकले पाएको भए त्यो विश्वव्यापी विषय बन्ने थियो, तर हामीले 'जबज' लाई अन्तर्राष्ट्रियकरण गर्न अझै बाँकी छ।

जडसूत्रवादको विरोध र अन्तर्राष्ट्रिय प्रभाव : चौथो, 'जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, मार्क्सवादको सिर्जनात्मक प्रयोग गरौँ' भन्ने मूल नाराका साथ उहाँले जनवादी कार्यक्रममा थप १४ विशेषता समावेश गर्नुभयो। यसरी उहाँले विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको जडता र युरो-कम्युनिज्ममा रहेको सुधारवादलाई सही दिशा दिनुभयो।

वास्तवमा, मानवजातिले आर्जन गरेका जीवन्त उपलब्धिहरूलाई पुँजीपति वर्गले स्वार्थका लागि दुरुपयोग गरिरहेको अवस्थाबाट मुक्त गरी त्यसलाई श्रमजीवी वर्गको समृद्धिको आधारका रूपमा अघि बढाउने दूरगामी मान्यता उहाँले अघि सार्नुभयो। कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणमा नेतृत्वदायी भूमिका खेलेका कारण नै विश्वप्रसिद्ध 'न्युजविक' पत्रिकाले 'कार्ल मार्क्स लिभ्स इन नेपाल' शीर्षकमा उहाँको अन्तर्वार्ता प्रकाशित गरेको थियो।

पार्टी जीवनको लोकतान्त्रिकीकरण र बहुपदीय प्रणाली : पाँचौँ, जननेता मदन भण्डारीले पार्टी निर्माण र संगठन परिचालनका सन्दर्भमा नयाँ दृष्टिकोण अघि सार्नुभयो। कमरेड केपी शर्मा ओलीको अगुवाइमा नेकपा (एमाले) को आठौँ राष्ट्रिय महाधिवेशनले 'पार्टी जीवनको लोकतान्त्रिकीकरण' को संगठनात्मक नीतिलाई आत्मसात् गर्‍यो। त्योभन्दा पहिले नेपालका राजनीतिक दलहरू सभापतीय वा महासचिवीय प्रणालीमध्ये एकमा विभक्त थिए। यतिबेला नेपालका अधिकांश दलहरू अध्यक्षसहितको बहुपदीय प्रणालीमा छन्। युवाहरूको राजनीतिक हस्तक्षेप बढेसँगै यसको अभ्यासमा थप परिमार्जन गर्नुपर्ने देखिन्छ, जसमा 'जबज' को संगठनात्मक अवधारणाले मार्गदर्शकको काम गर्न सक्छ।

पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार र शान्ति प्रक्रियाको आधार : छैटौँ, जननेता मदन भण्डारीले अघि सार्नुभएको लोकतान्त्रिकीकरणको नीतिका कारण नै नेकपा (एमाले) ले सरकार गठन गर्ने ऐतिहासिक भूमिका निभाउन सफल भयो। रहस्यमय जीप दुर्घटनामा उहाँ र जीवराज आश्रितको हत्या भएपछि, शोकलाई शक्तिमा बदल्ने संकल्पका साथ २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा देशमा पहिलोपटक अल्पमतको एकल कम्युनिष्ट सरकार गठन भयो।

उक्त सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता र 'आफ्नो गाउँ आफैँ बनाऔँ' अभियान अत्यन्त लोकप्रिय बने। 'जबज' को यही लोकतान्त्रिक नीतिका कारण १० वर्ष लामो माओवादी सशस्त्र आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको हो।

वर्तमान राजनीतिक संकट र लोकप्रियतावादको चुनौती : सातौँ, यतिबेला नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलन दुवै संकटमा छन्। मुलुक लोकप्रियतावाद (पपुलिज्म) र अराजकतावादको चपेटामा परेको छ। सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनको आवरणमा विध्वंसकारी गतिविधिहरू भइरहेका छन्।

राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर बनेको छ भने राजनीतिक नेतृत्व, व्यापारी र व्यवसायीहरू प्रतिशोधको सिकार बनिरहेका छन्। यस चुनौतीको सामना गर्न पुनः एकपटक 'जबज' को आलोकमा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर लोकतन्त्र र संविधानको रक्षाका लागि खडा हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

 प्रविधिको विकास र वैचारिक पुनर्गठन आठौँ, सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको विस्तारले वर्गसंघर्षलाई नयाँ रूपमा परिचालित गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ। भदौ २३ र २४ को घटनापछिका प्रयोगहरू पपुलिज्म र एनार्किज्म रोक्न असफल साबित भए। यस्तो विषम अवस्थामा 'जबज' को आलोकमा वर्तमानका चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ। समस्या जतिसुकै कठिन भए पनि त्यसको समाधान सम्भव छ भन्ने कुरा जननेता मदन भण्डारीको जीवन-संघर्षबाट प्रस्ट हुन्छ। सोही प्रेरणा लिएर नेकपा (एमाले) नेतृत्वको कम्युनिष्ट आन्दोलनलाई नयाँ रूपमा अघि बढाउने संकल्प गर्नुपर्दछ।

आत्मसमीक्षा, जनअपेक्षा र नयाँ पुस्ताको सवाल : नवौँ, मदन भण्डारी फाउन्डेसनले हीरक जयन्ती मनाइरहँदा परम्परागत चर्चामा मात्र सीमित नभएर आजका समकालीन समस्याको सामना गर्ने वैचारिक आधारका रूपमा 'जबज' लाई कसरी आत्मसात् गर्ने भन्नेबारे गम्भीर छलफल आवश्यक छ।

कमरेड केपी शर्मा ओलीको नेतृत्वमा विकास र समृद्धिका युगान्तकारी कामहरू भए पनि ती कामले नयाँ पुस्तालाई किन सन्तुष्ट गर्न सकेन भन्ने अहम् प्रश्न हो। सोभियत समाजवादको विघटनका सन्दर्भमा मदन भण्डारीले गर्नुभएको विश्लेषणबाट पाठ सिक्दै, जनताको बदलिएको आकांक्षा र असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसक्दा राष्ट्रविरोधी शक्तिहरूले राजनीतिक लाभ लिन सफल भए।

जनता इतिहासका निर्माता हुन् भन्ने कुरालाई आधार बनाई प्रमुख राजनीतिक दलहरूले जनता आफूबाट किन टाढा भए भनी बाह्य षड्यन्त्रमा मात्र होइन, आफ्नै कमजोरीमा पनि खोज्नुपर्दछ। जनता साथमा रहे बाह्य षड्यन्त्रलाई सामना गर्न सकिन्छ भन्ने कुरा संविधान निर्माणका समयमा केपी शर्मा ओलीलाई जनताले दिएको साथबाट स्पष्ट हुन्छ। तसर्थ, मदन भण्डारीले बारम्बार भन्नुभएझैँ सिंहावलोकन गरेर, निष्कर्षका आधारमा नयाँ ढङ्गले संगठित हुँदै अघि बढौँ। हीरक जयन्तीको अवसरमा जननेता मदन भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्दै 'जबज' को आजको सन्दर्भमा गहिरो अध्ययन र आत्मसात् गरौँ।

लेखक चिनारी

शंकर पोखरेल
महासचिव, नेकपा (एमाले) लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७