प्रचण्डलाई ओलीको ‘ब्रिफिङ’: विद्या भण्डारीबाट चल्दैन, विष्णु पौडेल र शंकर पोखरेललाई दिन्न
निकटलाई प्रचण्डको ब्रिफिङ: कार्यगत एकता सुरु भयो, एमालेको विवाद साङ्लो भएपछि एकता ।
काठमाडौं : नेकपा (एमाले) का पदाधिकारीहरू नेता तथा कार्यकर्ताहरूको कुरा सुन्न प्रदेश दौडाहामा छन्। पार्टी पुनर्गठनको पक्षमा उभिएका नेकपा (एमाले) का प्रभावशाली मानिने नेताहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल ३० जेठबाट प्रदेशमा छन्।
एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभर कार्यकर्ताबाट सुझाव लिने गरी सातै प्रदेशमा अभियान चलाइरहेको छ। नेकपा (एमाले) ले सचिवालय बैठकबाट उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।
३० जेठबाट सुरु हुने अभियान १९ असारसम्म सातवटै प्रदेशमा चल्नेछ। सुझाव संकलन अभियानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, प्रदेशअन्तर्गत जिल्लाका अगुवा पदाधिकारी सहभागी भइरहेका छन्। उनीहरूबाट सुझाव लिएर पार्टीको पुनर्गठनका विकल्पबारे प्रतिवेदन तयार पारी कार्यदलले केन्द्रीय सचिवालय बैठकमा राख्नेछ। त्यही प्रतिवेदनको आधारमा पार्टी पुनर्गठन अर्थात् अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने रणनीतिमा उपाध्यक्ष पौडेल, महासचिव पोखरेललगायतका नेताहरू छन्।
पदाधिकारी, नेता तथा कार्यकर्ताहरूलाई सुन्न गइरहेका बेला यता अध्यक्ष केपी शर्मा ओलीले भने अन्य पार्टीका नेता र केन्द्रीय सदस्यहरूसँग भेटघाट जारी राखेका छन्। केन्द्रीय कमिटी बैठक मार्फत ‘आफू अनुकूल’ निर्णय गरेर प्रचण्डसँग पार्टी एकता गर्ने रणनीतिमा ओली छन्। स्रोतका अनुसार अघिल्लो साता ओलीले नेकपा संयोजक प्रचण्डसँग लामो संवाद गरेका छन्।
स्रोतका अनुसार ओलीसँगको संवादका बारेमा प्रचण्डले आफू निकटलाई गोप्य ब्रिफिङसमेत गरेका छन्। प्रचण्डले आफू निकटलाई गरेको ब्रिफिङअनुसार अध्यक्ष ओलीले कार्यगत एकता र पार्टी एकताको प्रस्ताव राखेका छन्।
भेटमा अध्यक्ष ओलीले आफू पार्टीभित्र बलियो रहेको दाबी गरेका थिए। ओलीले भनेका थिए, ‘बाहिर हल्ला भएजस्तो केही छैन, म केन्द्रीय कमिटीबाट आफ्ना मान्यताहरू सबै सुविधाजनक हिसाबले निर्णय गराउँछु।’ स्रोतका अनुसार अध्यक्ष ओलीले लामो व्याख्यासहित प्रचण्डलाई नेकपा (एमाले) आफ्नै कमाण्डमा रहेको बताएका थिए। प्रचण्डलाई आश्वस्त पार्ने गरी उनले भनेका थिए, ‘म नै हो।’
स्रोतका अनुसार निकै लामो व्याख्यासहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई अहिले नै नेतृत्व नदिने बताएका थिए। प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाममा चासो राखेका थिए। तर ओलीले भण्डारीबाट पनि नचल्ने बताएका थिए। उनले भनेका थिए, ‘विष्णु र शंकर हुन्न, दिन्न, विद्याबाट पनि पार्टी चल्दैन।’
गत १० जेठमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा बहुसंख्यक पदाधिकारी पार्टी पुनर्गठनका पक्षमा उभिएपछि त्यसबारे अध्ययन गरी सुझाव पेस गर्न उपाध्यक्ष थापाको नेतृत्वमा कार्यदल बनेको थियो। कार्यदललाई १० असारभित्र चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्न भनिएको थियो। १९ असारसम्म सुझाव संकलन सकिएपछि मात्र प्रतिवेदन तयार हुनेछ। प्रतिवेदनलाई केन्द्रीय सचिवालयले छलफल गरेपछि केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाउँदै आएको छ। कार्यदलमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिवहरू छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवालीसहित आठै प्रदेशका इन्चार्जहरू सदस्य छन्।
निकटलाई प्रचण्डको ब्रिफिङ: कार्यगत एकता सुरु भयो, एमालेको विवाद साङ्लो भएपछि एकता
यता प्रचण्डले भने आफू निकटलाई नेकपा (एमाले) सँग मिलेर जानुको अर्को विकल्प नरहेको ब्रिफिङ गरेका छन्। एक नेताका अनुसार उनले भनेका छन्, ‘अब कार्यगत एकता सुरु भएको मान्नुहोस् न, एकता र बाँकी प्रक्रिया एमालेभित्रको विवाद साङ्लो भएपछि हुन्छ।’
स्रोतका अनुसार एमालेभित्रको जारी विवाद स्पष्ट भएपछि मात्रै एकताको पहल सुरु गर्ने योजनामा प्रचण्ड रहेको एक नेताले बताए। ती नेता भन्छन्, ‘ओली हुन् वा दोस्रो पुस्ताका नेताहरू, जो आए पनि विवाद सकिएपछि तत्काल एकता गर्ने योजनामा हुनुहुन्छ प्रचण्ड।’
.gif)

.png)

