राम्रो लुगा लगाएर र चिल्लो गाडी चढेर मात्र राम्रो मान्छे बनिँदैन : हर्क साम्पाङ
‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौं\'
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको ‘राष्ट्रघाती’ अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन गरिएको आग्रहलाई सभामुख डोलप्रसाद अर्यालले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्। सत्तापक्षले प्रतिपक्षको आवाज नसुनेको आरोप लगाउँदै साम्पाङले पदमा बस्ने व्यक्तिमा नैतिकता र जवाफदेहिता हुनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री शाहप्रति कटाक्ष गर्दै साम्पाङले भने, ‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ। मान्छे राम्रो लुगा लगाएर वा चिल्लो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनु अनिवार्य छ।’
बजेट निर्माण प्रक्रियामा देखिएका कमजोरीहरूबारे प्रश्न उठाउँदै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफदेहिता खोजेका छन्। रक्षा मन्त्रालयको बजेट पुस्तिका नै उपलब्ध नगराई छलफल अगाडि बढाइएको र सञ्चार मन्त्रालयको बजेटमा अर्बौं रुपैयाँको हिसाब अपारदर्शी तथा अङ्कगणितीय त्रुटिपूर्ण रहेको उनको दाबी छ। साम्पाङले यस्तो गम्भीर लापरबाही सरकारका लागि मान्य नहुने भन्दै आलोचना गरेका छन्।
साथै, उनले भारतको पटनामा करिब नौ सय नेपालीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी बन्धक बनाइएको गम्भीर सूचना सार्वजनिक गर्दै तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। युवा शक्तिको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै रोजगारी सुनिश्चित गर्न उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन सरकारलाई ठोस योजना ल्याउन सुझाव दिएका छन्।
.gif)

.png)

