सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिइएका ७७४ वटा विद्युतीय सवारीसाधन फिर्ता
काठमाडौं : सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धित पक्षलाई जिम्मा लगाएर पठाइएको छ। अर्थ मन्त्रालयसँगको समन्वयमा ती सवारीसाधन शनिबार बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ती सवारीसाधनहरू कानुनसम्मत रूपमा आयात गरिएका हुन् वा होइनन् भन्ने विषयमा छानबिन गर्न अर्थ मन्त्रालयको अनुरोधमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
यस सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित एक समिति गठन गरेको थियो। कानुनसम्मत प्रक्रिया पूरा गरेरै भित्र्याइएको पुष्टि भएपछि ती सवारीसाधन सम्बन्धित धनीलाई लैजान अनुमति दिइएको मुस्ताङ भन्सार कार्यालय कोरलाका प्रमुख भन्सार अधिकृत विदुर चुडालले बताएका छन्।
हाल पर्वतको कुश्मा र हेम्जामा रोकिएका गाडीहरू सम्बन्धित धनीले लगिसकेका छन् भने कोरला नाकामा रोकिएका गाडीहरू लैजाने क्रम पनि सुरु भइसकेको छ।
.gif)

.png)

