सामाजिक सञ्जालमा ‘चरित्रहत्या’ गर्ने बिरुद्ध खुश्वु ओलीले दिइन् साइबर ब्युरोमा उजुरी
उजुरीपछि एक जना पक्राउ
काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले आफूमाथि सामाजिक सञ्जालमा भएको दुर्व्यवहारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छिन्। संसदमा आफूले उठाएका जनचासोका विषयहरूलाई लिएर केही सातायता सामाजिक सञ्जालमार्फत आफूमाथि गालीगलौज, चरित्रहत्या र ज्यान मार्नेसम्मका धम्की आएको उनले जानकारी दिएकी छिन्।
सांसद ओलीले आफ्ना सामाजिक सञ्जाल खातामार्फत उक्त उजुरीका आधारमा साइबर ब्युरोले एक जना व्यक्तिलाई पक्राउ गरिसकेको र कानुनी प्रक्रिया अगाडि बढाएको जनाएकी छिन्। उनले सामाजिक सञ्जालका विभिन्न मञ्चहरूमा आफ्नो बारेमा फैलाइएका घृणायुक्त अभिव्यक्ति तथा हिंसात्मक सामग्रीहरू तत्काल हटाउन र अन्यथा कानुनी कारबाहीको सामना गर्न चेतावनी दिएकी छिन्।
यस विषयमा गत बुधबार प्रतिनिधिसभा बैठकको समयमा गृहमन्त्री सुधन गुरूङले संसद भवनमै सांसद ओलीसँग भेट गरी धम्की दिनेहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए। सांसद ओलीले गृहमन्त्री र नेपाल प्रहरीको साइबर ब्युरोको सक्रियताप्रति आभार व्यक्त गरेकी छिन्।
ओलीले लेखेकी छिन् :-
विगत केहि सातादेखि मैले संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, गालीगलौज, चरित्रहत्या र घृणायुक्त अभिव्यक्तिहरू निरन्तर आईरहे। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या सयौंबाट हजारौँमा पुग्यो। मेरो व्यक्तिगत मोबाइल फोन देखि लिएर, म्यासेन्जर सम्ममा बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका अभिव्यक्तिसम्म आए। आज मैले यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोमा केही दर्जन व्यक्तिहरू माथि औपचारिक उजुरी दर्ता गरेको छु। आज नै एकजना व्यक्ति पक्राउ परिसकेका छन्, र कानूनी प्रक्रियाको सामना गर्दै छन्।
मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम-नागरिकहरुले कठोर भन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो। तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुव्र्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिन।
टिकटक, युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा मेरो बारेमा सामग्री अपलोड गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने, घृणा फैलाउने सबैलाई म स्पष्ट रूपमा सचेत गराउन चाहन्छु: अझै पनि त्यस्ता सामग्रीहरु हटाउने समय तपाईंहरुसँग छ। अन्यथा, आजदेखि नै कानूनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस्। सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्ति प्रति मेरो शून्य सहनशीलता रहनेछ!
आज सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति, गालीगलौज, धम्की र चरित्रहत्यालाई चुपचाप सहेर बस्न बाध्य भएका हजारौं नागरिक-महिला र पुरुष दुवै छन्। जब यस्ता व्यवहारहरुलाई सहिन्छ, त्यस्ता कार्य गर्नेहरू अझ प्रोत्साहित हुन्छन् र उनीहरुको अराजकता झनै फैलिन्छ। हामीले सामाजिक सञ्जालमा घृणायुक्त अराजकतालाई सामान्यीकरण गर्नु हुँदैन। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहारलाई स्वीकार गर्न सकिँदैन। आज गरिएको एउटा कानूनी र जिम्मेवारपूर्ण कदम सानो देखिन सक्ला, तर यसले भोलिको समाजलाई केही बढी सभ्य, सुरक्षित र उत्तरदायी बनाउन योगदान पुर्याउन सक्दछ। सामाजिक सञ्जालमा फैलिरहेको घृणायुक्त अराजकता र घृणाको संस्कृतिप्रति शून्य सहनशीलताको सन्देश दिनु हामी सबैको सामाजिक र नैतिक जिम्मेवारी पनि हो।
यस संवेदनशील विषयप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गर्नुभएकोमा माननीय गृहमन्त्रीज्यू तथा नेपाल प्रहरीको साइबर ब्युरोप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु
.gif)

.png)

