भारतको अवरोधले इलामका ५३ चिया उद्योग बन्द हुँदै, हजारौँ किसानको रोजिरोटी संकटमा

३३ हजार रोपनीको चिया अलपत्र, वार्षिक सवा ४ अर्बको बजार जोखिममा


२०८३ जेठ ३१ आइतबार ०८:१४ बजे

इलाम : भारतले नेपाली चिया आयातमा कडा र झन्झटिलो नीति लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योग बन्द हुने भएका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भोलि (असार १ गते) देखि आफ्ना सम्पूर्ण उद्योगहरूको उत्पादन ठप्प पार्ने घोषणा गरेको हो।

भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको र उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएपछि भण्डारण क्षमता अभावका कारण उद्योग बन्द गर्नु परेको एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बताए। 'किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाए पनि बजारमा बिक्री हुन सकेको छैन। भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको र किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुको विकल्प रहेन,' अध्यक्ष श्रेष्ठले दुःखसोसो पोखे।

भारतको ‘एसओपी’ र प्राविधिक झन्झट

भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेपछि यो संकट चुलिएको हो। नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने कडा नियम बनाइएको छ।

परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। उद्योगी गोपाल कट्टेलका अनुसार भारतले विभिन्न प्राविधिक झन्झट सिर्जना गरेर नेपाली चिया रोकेपछि अर्बौँ रुपैयाँको बजार गुम्ने खतरा बढेको छ। यसका लागि सङ्घीय सरकारले तत्काल कूटनीतिक पहल गरी निर्यात सहजीकरण गर्नुपर्ने माग उद्योगीहरूको छ।

३३ हजार रोपनीको चिया अलपत्र, किसान चिन्तित

उद्योगहरू अचानक बन्द हुँदा सूर्योदय नगरपालिकाका २ हजार ९९५ चिया किसानहरू प्रत्यक्ष प्रभावित हुने भएका छन्। यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक २ करोड किलो हरियो पत्ती उत्पादन हुन्छ। उद्योग बन्द भएपछि आफ्नो हरियो पत्ती नबिक्ने र रोजिरोटी नै गुम्ने चिन्ताले किसान राजन भट्टराई जस्ता हजारौँ श्रमजीवीहरूलाई पिरोलेको छ।

सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’ माथि भारतीय चिया बोर्डले गोदाममै पसेर जथाभाबी नमुना सङ्कलन गरिरहेको तर साता दिन बित्दा पनि रिपोर्ट नदिएर बिक्री रोकेको बताए। झन्झटिलो प्रक्रियाले नेपाली चिया गोदाममै सडिने जोखिम बढेकाले नगरले उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग जोडदार माग गरेको छ।

वार्षिक सवा ४ अर्बको बजार जोखिममा

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारले ओगटेको छ। वार्षिक सवा ४ अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ। भारतको यो पछिल्लो रणनीतिक अवरोध समयमै नहटे नेपालको चिया क्षेत्र पूर्ण रूपमा टाट पल्टिने खतरा कूटनीतिक र आर्थिक वृत्तमा देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७