हङकङलाई हराउँदै नेपाल च्याम्पियन
वरीयतामा पनि सुधार
काठमाडौँ, २५ जेठ : एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले हराएको हो।
हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङबीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो।
नेपालका लागि ओपनर कुशल भूर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाएका हुन्। त्यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले २४ बलमा ३५ रन जोडे।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो। हङकङको लागि अशुंमन रथले सर्वाधिक ८० रनको योगदान दिए। उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन्। त्यस्तै सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काका साथ ५५ रन बनाउँदै आउट भए। शिव माथुरले २१ बलमा २६ रन बनाए।
बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए। त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे। नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन खेलका लागि छनोट भइसकेका छन्।
आईसीसी टी–२० आई वरीयतामा नेपालको सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० आई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले सोमबार अद्यावधिक गरेको नयाँ वरीयता अनुसार नेपाल १५औँ स्थानमा उक्लिन सफल भएको हो।
नेपालले वरीयतामा सुधार गर्दा यसअघि १५औँ स्थानमा रहेको स्कटल्याण्ड भने एक स्थान तल झर्दै १६औँ स्थानमा पुगेको छ। सूचीका अन्य टोलीको स्थितिमा भने कुनै परिवर्तन भएको छैन।
टोलीको वरीयतामा सुधार देखिए पनि व्यक्तिगत ब्याटिङतर्फ भने नेपाली खेलाडीहरूको मिश्रित प्रदर्शन देखिएको छ। कुशल भुर्तेलले दुई स्थान सुधार गर्दा दिपेन्द्र सिंह ऐरी एक र आशिफ शेख तीन स्थान तल झरेका छन्। उनीहरू क्रमशः ६४, ६१ र ९५औँ स्थानमा छन्।
.gif)

.png)


