सुधन गुरूङले दलबल सहित प्रहरी हिरासतमै पुगेर जेनजी अगुवामाथि दुर्व्यवहार गरेको आरोप
‘हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि प्रहरी हिरासत कक्षभित्रै प्रवेश गरी थुनुवाहरूलाई धम्की दिएको गम्भीर आरोप लागेको छ। प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिको विरोधमा भारतीय दूतावास नजिक प्रदर्शन गर्न पुगेका ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ का अभियन्ताहरूलाई हिरासतमा पुगेर उनले थर्काएको दाबी गरिएको छ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा पम्पेल्ट प्रदर्शन गर्न गएका अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले लैनचौर क्षेत्रबाट नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) मा राखेको थियो। प्रदर्शन सुरु हुनुअघि नै उनीहरूलाई पक्राउ गरिएको अभियानले जनाएको छ।
अभियानका अनुसार, हिरासतमा राखिएको करिब एक घण्टापछि सांसद गुरुङ दलबलसहित थुनुवा कक्षभित्रै प्रवेश गरेका थिए। सो क्रममा उनले अभियन्ताहरूलाई लक्षित गर्दै मानसिक दबाब सिर्जना गर्ने र धम्काउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँले तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ ? यो अन्तिम मौका हो, अब प्रहरी र सरकारले छोड्दैन सरकारविरुद्ध बोल्न बन्द गर्नुस्’ जस्ता चेतावनीयुक्त अभिव्यक्ति दिँदै थर्काउने प्रयास गर्नुभयो।’
अभियानले घटनाबारे निष्पक्ष छानबिन गर्न, हिरासतमा भएको भनिएको राजनीतिक हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, प्रहरी प्रशासनको राजनीतिक दुरुपयोग रोक्न तथा शान्तिपूर्ण अभिव्यक्ति र लोकतान्त्रिक अधिकारको सम्मान सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
अभियानका संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा नागरिकको विचार, अभिव्यक्ति र शान्तिपूर्ण विरोधको अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीको माग गरिएको छ।
.jpg)
.gif)

.png)

