सांसदहरुले भने, ‘मलको अभाव नहोस्’ : कृषि सामग्रीका प्रबन्ध भन्छन् ‘असारसम्म मात्रै पुग्छ’
बजेट अभावका कारण पर्याप्त मल खरिद गर्न नपाएको कृषि सामग्री कम्पनी लिमिटेडको स्पष्टीकरण
काठमाडाैं : प्रतिनिधिसभाका सांसदहरुले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणाली’ बारे भएको छलफलमा उनीहरुले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे ।
सांसद ज्ञानेन्द्र सिंह महताले प्रत्येक वर्ष सरकार वा सम्बन्धित निकायले मल अभावको समस्या मात्रै देखाउनेभन्दा पनि ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउनुपर्ने बताए । सांसद वशुमाया तामाङले नेपाल कृषि प्रधान देश भए पनि मलको निम्ति सधैँभरि विदेशीसँग भर पर्नुको सट्टा मल अभावको दीर्घकालीन समाधानका निम्ति देशभित्रैको अग्र्यानिक मल उत्पादनलाई प्राथमिकताका साथ अगाडि बताइन् । सांसद सन्तोष सुब्बाले अहिले पनि मलमा लगानी र व्यवस्थापनमा प्रश्न उडिरहेको उल्लेख गर्दै रासायनिक मलको विकल्पमा लाग्नुपर्ने बताए ।
समितिका सभापति अशोककुमार चौधरीले असार १५ मा किसानले पर्याप्त मल पाउने गरी तत्काल आवश्यक मल खरिद प्रक्रिया अगाडि बढाउन कृषि सामग्री कम्पनी लिमिटेडलाई निर्देशन दिए। कृषि सामग्री कम्पनी लिमिटेडले भने देशमा हुने मलखादको मागबमोजिम अनुदान बजेट एवम् वार्षिक खरिद परिमाण नतोकिँदा किसानको मागबमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ । समितिका सदस्य लक्ष्मीप्रसाद पोखरेल, राजीव खत्री, पुनमकुमारी अग्रवाल, सुजाता तामाङ, सागर ढकाल र प्रेमबहादुर बयकले यो वर्ष मलको अभाव हुन नहुनेमा जोड दिए।
‘मौज्दात मलले असारसम्म मात्रै पुग्छ’
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताएका छन्। उनले चालु आर्थिक वर्षमा बजेट अभावकै कारण पर्याप्त मल खरिद गर्न नसकिएको बताए।
उनका अनुसार सरकारले कुल २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो। त्यसमा कम्पनीले २० अर्ब १७ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको र सो बजेटले ३ लाख ५९ हजार १०० मेट्रिक टन मल खरिद गरिएको जानकारी दिए। ५ लाख ५० हजार मेट्रिक टन खरिद गर्ने योजना बनाइए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य आकासिएपछि किन्न नसकिएको उनको भनाइ छ।
उनका अनुसार कम्पनीसँग हाल १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको छ। उक्त मलले असार अन्त्य वा साउन पहिलो सातासम्म मात्रै धान्ने अवस्था रहेको उनले बताए। उनले भने, ‘हाम्रो १९ अर्ब ५३ करोड बजेट खर्च भइसकेको छ। हामीलाई मल किन्नलाई बजेट भएन र हामीले थप टेण्डरहरू गर्न सकेनौँ। त्योमध्ये ३ लाख ५९ हजार मलमध्ये ३ लाख ७ हजार हाम्रो मल हामीले खरिद योजना अनुसार कार्यक्रम गरेका थियौँ। त्योमध्ये ३ लाख ६ हजार ८४९.८५० मेट्रिक टन हाम्रो मलखाद यो वर्ष प्राप्त भइसकेको छ। अहिलेसम्म रासायनिक मलको बिक्री ३ लाख ३६ हजार ८९९.२० मेट्रिक टन गरेका छौँ। अहिले मौज्दात हामीसँग ११ गतेसम्मको मौज्दातको अवस्था १ लाख ५ हजार २४१ मेट्रिक टन त्यो मौज्दातमा छ। यो यही जेठ असारमा हामीले बिक्री गर्ने भनेर राखेका छौँ, हरेक दिन हरेक दिन बिक्री भइरहेको अवस्था छ। अब यो मल धेरैजसो यो असार अन्तिम र साउनको बढीमा पहिलो हप्तासम्म जान्छ होला, त्यसपछि यो मल सकिने अवस्था हुन्छ।’
.gif)

.png)

