बीपी राजमार्ग पुनर्निर्माणमा जापानी सुरुङ प्रविधि: जापानी राजदूत र मन्त्रालयका सचिवद्वारा शिलान्यास
अब बाढीले बगाउन नसक्ने बीपी राजमार्ग, छोटो सुरुङ र अत्याधुनिक प्रविधिसहित १९ महिनाको कडा म्याद
काठमाडौँः अविरल वर्षा र बाढीपहिरोका कारण क्षतविक्षत बनेको बीपी राजमार्गको सबैभन्दा जटिल खण्डको पुनर्निर्माण कार्यले अन्ततः औपचारिकता पाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको सिन्धुलीको बरखे खोलादेखि सुख्खा पहिरोसम्मको ३.२ किलोमिटर सडक खण्डको आज (सोमबार) औपचारिक शिलान्यास हुँदैछ।
नेपालका लागि जापानी राजदूत माइदा तोरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त खण्डको पुनर्निर्माण कार्यको शिलान्यास गर्ने कार्यसूची छ।
भौगोलिक दृष्टिकोणले अत्यन्तै कठिन र खर्चिलो मानिएको यो खण्डको पुनर्निर्माण जापान सरकारले नै गरिदियोस् भन्ने नेपालको कूटनीतिक इच्छा थियो। किनभने, महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्मको १६० किलोमिटर लम्बाइको यो रणनीतिक राजमार्ग जापान सरकारकै सहयोगमा बनेको थियो। नेपालको आग्रहलाई स्वीकार गर्दै जाइकाले यो टुक्रा पुनर्निर्माण गर्न सैद्धान्तिक सहमति जनाएको थियो, जसका लागि २०८२ कात्तिक १३ गते २ अर्ब ६० करोड नेपाली रुपैयाँ (२ अर्ब ८० करोड जापानी येन) को अनुदान सम्झौता भएको थियो। कुल २ अर्ब ८० करोड लागत अनुमान गरिएको यो आयोजनामा अपुग रकम नेपाल सरकार आफैँले व्यहोर्नेछ।
सुरुङ मार्गसहित १९ महिनामा सम्पन्न गर्ने लक्ष्य
सडक डिभिजन कार्यालय भक्तपुर–काभ्रेप्लाञ्चोकका प्रमुख सुमन योगेशका अनुसार यो खण्डमा बाटो सोझ्याउन २० देखि ३० मिटर लम्बाइका केही ‘सर्ट टनेल’ (सुरुङ) समेत निर्माण गरिनेछ। निर्माण कार्य आगामी १९ महिनाभित्र अर्थात् सन् २०२७ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जाइका स्वयंले ठेकेदार छनोट गरिसकेको र परामर्शदाताले माटो परीक्षण सकेपछि हाल निर्माण कम्पनीले त्यसको पुनः प्रमाणीकरण (भेरिफिकेसन) गर्दै साइटमा काम थालिसकेको प्रमुख योगेशले जानकारी दिए।
बाढीले निम्त्याएको त्यो विनाश
२०८१ सालको असोजमा आएको अभूतपूर्व बाढीपहिरोले बीपी राजमार्गको २८ किलोमिटर खण्डमा व्यापक क्षति पुर्याएको थियो, जसमा रोशी नदी आसपासको भाग पूर्ण रूपमा बगेको थियो। यसमध्ये काभ्रेप्लाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर खण्ड पूर्ण रूपमा ध्वस्त भएको थियो भने साढे ८ किलोमिटर सडक जगैबाट बगेको थियो। हाल यो राजमार्ग घाम लाग्दा जसोतसो चल्ने र सामान्य वर्षा हुनासाथ बन्द हुने अवस्थामा छ।
बाँकी ३ खण्डमा नेपाल सरकारकै लगानी
मन्त्रालयले कुल क्षतिग्रस्त खण्डलाई ४ भागमा वर्गीकरण गरेको थियो। जाइकाले बनाउने एक भागबाहेक बाँकी ३ वटा खण्डको ठेक्का प्रक्रिया अघि नै टुङ्गिएर नेपाल सरकारकै आफ्नै खर्चमा निर्माण सुरु भइसकेको छ।
जसअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सहित भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन अन्तर्गत २ अर्ब ५४ करोड लागतको चारसयवेसी–भकुन्डेवेसी (११ किलोमिटर) र २ अर्ब ४७ करोड लागतको डल्लावेसी–चारसयवेसी (साढे ८ किलोमिटर) खण्डको काम भइरहेको छ। त्यस्तै, सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन अन्तर्गत १ अर्ब लागतको नेपालथोक–बर्खेखोला खण्ड (५ किलोमिटर) को सडक पुनर्निर्माण र पहिरो नियन्त्रणको कार्य अघि बढिसकेको छ।
अब साधारण होइन, प्रविधिमैत्री विशिष्टीकृत सडक बन्ने
पहिले साधारण पर्खाल (वाल) उठाएर बनाइएको बीपी राजमार्ग अब भने अत्याधुनिक प्रविधिबाट विशिष्टीकृत रूपमा पुनर्निर्माण हुँदैछ। अब बन्ने कुल २८ किलोमिटर सडक ढलसहित १० मिटर चौडाइको चौडा दुई लेनको हुनेछ, जसमा सवारी साधन गुड्नका लागि ७ मिटर चौडाइमा कालोपत्रे गरिनेछ।
नयाँ प्रविधिबारे जानकारी दिँदै डिभिजन प्रमुख योगेशले भने, 'अब खोला किनारतर्फ जमिनमुनिबाट माइक्रो पाइल उठाएर, त्यसमाथि आरसीसी (कङ्क्रिट) वाल खडा गरी दुई लेनको पक्की सडक बनाइनेछ।' यो प्रविधिले गर्दा भविष्यमा आउने बाढीले सडकको जग बगाउने जोखिम अत्यन्तै न्यून हुनेछ।
.gif)

.png)

