रोशी खोला बढेपछि बीपी राजमार्ग बन्द

प्रहरीको अनुरोध: सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुस्


२०८३ जेठ २६ मंगलबार १४:३२ बजे

काभ्रेपलाञ्चोक :  काभ्रेका विभिन्न क्षेत्रमा मंगलबार मध्याह्नदेखि भइरहेको भीषण वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बाढीसँगै राजमार्गको विभिन्न खण्डमा पहिरो जान थालेपछि सम्भावित ठूलो जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशीको माथिल्लो तटीय क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।

माथिल्लो क्षेत्रमा लगातार भएको भीषण वर्षाका कारण रोशी खोलामा पानीको सतह खतरनाक विन्दुमा पुगेको र सडक कटानको जोखिम समेत बढेको डीएसपी विष्टले जानकारी दिए। रोशीमा पानीको सतह लगातार बढेपछि यात्रु र सवारीसाधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा चल्ने साना-ठूला सम्पूर्ण सवारीसाधनको आवागमन तत्कालका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

चारसयबेशी नजिक पहिरो, गेग्रानले सडक थुनियो

राजमार्ग बन्द हुनुको अर्को मुख्य कारण रोशी गाउँपालिकाको चारसयबेशी नजिकै खसेको पहिरो पनि हो। लगातारको वर्षाले पहाडबाट लेदो र पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। डीएसपी विष्टका अनुसार पानीको बहाव सामान्य नभएसम्म र चारसयबेशीको पहिरो पन्छाएर सडक सुरक्षित नबनाएसम्म राजमार्ग खोल्न सकिने अवस्था छैन। पहिरो पन्छाउनका लागि सडक विभाग र सुरक्षा निकायको टोली तयारी अवस्थामा रहे पनि निरन्तरको वर्षा बाधक बनेको छ।

धुलिखेल, खुर्कोट र नेपालथोकमा सवारीसाधन 'होल्ड'

राजमार्ग आकस्मिक रूपमा बन्द गरिएपछि काठमाडौँबाट पूर्वी पहाड र तराईतर्फ प्रस्थान गरेका तथा तराईबाट सङ्घीय राजधानीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन र यात्रुहरू बीचमै रोकिएका छन्।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा सवारीसाधन प्रवेश गर्न नदिन काभ्रेको धुलिखेलमा सवारी रोकेको छ। त्यस्तै सिन्धुली जिल्ला प्रहरीसँग समन्वय गरेर बीपी राजमार्गकै खुर्कोट र नेपालथोकमा सवारीसाधनहरूलाई सुरक्षित रूपमा 'होल्ड' गरिएको काभ्रे प्रहरीले जनाएको छ।

प्रहरीको अनुरोध: सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुस्

मनसुन सक्रिय भएसँगै बीपी राजमार्गको रोशी खण्ड निकै संवेदनशील र जोखिमपूर्ण बन्ने गरेको छ। प्रहरी प्रशासनले यात्रुहरूलाई विना काम जोखिमपूर्ण मौसममा यात्रा नगर्न र यात्रा गर्नै परेमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी युनिटमा सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्रै घरबाट निस्कन विशेष अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७