फिर्केखोला अतिक्रमणमा महानगरको एक्सन (तस्बिरहरु)
भावी पुस्ताका लागि स्वच्छ र व्यवस्थित पोखरा बनाउन फिर्केखोलाको स्वरूप जोगाइँदै
काठमाडौँः पोखरा महानगरपालिकाले फिर्केखोलाको संरक्षण, विकास तथा सौन्दर्यीकरणका लागि सुरु गरेको अभियान अन्तर्गत खोलाको क्षेत्राधिकार अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउने कार्यलाई तीव्रता दिएको छ। यस कडा अभियानको पहिलो दिनमै महानगरले ८ वटा पक्की र १२ वटा अस्थायी गरी कुल २० वटा अवैध संरचनाहरू हटाएको छ।

प्राकृतिक सम्पदाको रक्षा गर्दै फिर्केखोलालाई सफा, सुरक्षित र लोभलाग्दो पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने महानगरको दीर्घकालीन लक्ष्य रहेको छ। यसै अनुरूप अघि बढाइएको अभियानमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायत सम्पूर्ण नगरवासीहरूबाट बलियो साथ र प्रशंसनीय सहयोग मिलेको महानगरले जनाएको छ।

फिर्केखोलाको मौलिक प्राकृतिक स्वरूपलाई जोगाएर वातावरणीय सन्तुलन कायम गर्ने महानगरको योजना छ। भावी पुस्ताका लागि स्वच्छ र व्यवस्थित सार्वजनिक क्षेत्र निर्माण गर्ने उद्देश्यले चालिएको यो कदममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति पोखरा महानगरपालिकाले विशेष आभार प्रकट गरेको छ।
महानगरका अनुसार फिर्केखोला संरक्षणको यो विशेष अभियान पूर्ण रूपमा सम्पन्न नभएसम्म निरन्तर जारी रहनेछ। आगामी दिनमा पनि पोखराको पर्यावरण जोगाउन, नदी तथा तालतलैयाहरूको वैज्ञानिक व्यवस्थापन गर्न र दिगो पर्यटन प्रवर्द्धनका यस्ता हरेक प्रयासहरूमा समाजका सबै पक्षको निरन्तर साथ रहिरहने विश्वास महानगरपालिकाले लिएको छ।

.jpg)
.jpg)

.gif)

.png)

