चिनियाँ दूतावासले भन्यो : चीनलाई बदनाम गर्न चलाइएको हल्लाप्रति स्तब्ध छौँ, खारेज गर्दछौँ
काठमाडौँ : नेपालस्थित चिनियाँ दूतावासले नेपाली सञ्चारमाध्यमका पत्रकारहरूलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भनी सामाजिक सञ्जालमा फैलाइएको हल्लाप्रति गम्भीर आपत्ति जनाएको छ। दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उक्त हल्लाले चिनियाँ पक्ष स्तब्ध भएको र यसलाई पूर्ण रूपमा खारेज गर्ने बताएका हुन्।
सामाजिक सञ्जालमा एक चिनियाँ नागरिकले नेपालका केही राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार लेख्नका लागि नेपाली पत्रकारहरूलाई आर्थिक प्रलोभन (घुस) दिने प्रयास गरेको भन्ने हल्लाबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ताले यस्तो स्पष्टीकरण दिएका हुन्। आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई चिनियाँ नागरिकले पूर्व गृहमन्त्री सुधन गुरुङ विरुद्ध समाचार लेख्न पैसा दिएको भन्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले प्रचार गरेका थिए।
'चीनको नियतवश बद्नाम गर्ने उद्देश्यले गरिएका यस्ता कार्यको हामी घोर भर्त्सना गर्दछौँ,' प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'चीनले सधैँ अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तलाई दृढताका साथ पालना गर्दै आएको छ। नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राजनीतिक स्थिरता र आर्थिक विकासमा चीनको सधैँ सक्रिय सहयोग रहँदै आएको छ।'
अडियो रेकर्ड अनुसार आफूलाई 'यिङ' नामले चिनाएका व्यक्तिले बेइजिङबाट फोन गरेको दाबी गर्दै पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङविरुद्ध समाचार लेख्न आग्रह गरेका थिए। त्यसवापत १० लाख नगद दिने प्रलोभनसमेत दिइएको थियो। फोन गर्ने व्यक्तिले सुधन हाम्रालागि खतरा रहेको भन्दै उनलाई पुनः गृहमन्त्री हुनबाट रोक्नका लागि नेपालका सबै मिडिया परिचालन गर्नुपर्ने तर्क गरेका थिए। तर जनआस्थाको तर्फबाट उक्त प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गरेको र आइन्दा कल नगर्न चेतावनी पनि दिइएको जनआस्थाले जनाएको छ ।
जनआस्थाले भनेको छ, ‘खासमा यो घटनाको वास्तविकता के हो भने, न जनआस्थाको तर्फबाट फोन गरेर रकम माग भएको हो, न त त्यसलाई स्वीकार नै गरिएको हो। गिरोह आफैँले फोन गरेको र आफैंले ढोकामा ल्याएर रक्सी र रकम छोडेको हो।’ त्यसपछि गिरोहले अर्को रणनीति अपनाउँदै एक युवतीमार्फत् सानेपा, ठाडोढुंगास्थित जनआस्था कार्यालयको गेटमा रक्सीको बोतल र ५० हजार रुपैयाँ छोडे र जसलाई आधार बनाएर अहिले झूठो कथा बुनी सञ्जालमा भ्रम छर्ने काम भइरहेको जनआस्थाले जनाएको छ ।
दूतावासले यस विषयलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकारका सम्बन्धित निकायहरूलाई यस भ्रामक हल्लाको गम्भीर, गहन र विस्तृत छानबिन गर्न आग्रह गरेको छ। साथै, यस्ता हल्ला फैलाउन प्रत्यक्ष संलग्न र यसको पछाडि रहेका गिरोहलाई नेपाली कानुनबमोजिम कडा कारबाही गर्न समेत माग गरिएको छ।
चिनियाँ दूतावासका प्रवक्ताको भनाइ :-
प्रश्न: हालै नेपालका सामाजिक सञ्जालहरूमा एक चिनियाँ नागरिकले नेपालका केही राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार लेख्नका लागि नेपाली सञ्चारमाध्यमका पत्रकारहरूलाई घुस दिने प्रयास गरेको भन्ने हल्ला फैलिएको छ। के यो हल्ला सत्य हो? यस विषयमा यहाँको धारणा के छ?
उत्तर: तपाईंले उल्लेख गर्नुभएको हल्लाप्रति चिनियाँ पक्ष गम्भीर रूपमा स्तब्ध भएको छ र यसलाई पूर्ण रूपमा खारेज गर्दछ। चीनको नियतवश बद्नाम गर्ने उद्देश्यले गरिएका यस्ता कार्यको हामी घोर भर्त्सना गर्दछौँ।
म के कुरामा जोड दिन चाहन्छु भने, चीनले सधैँ अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तलाई दृढताका साथ पालना गर्दै आएको छ। चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयासलाई सधैँ र दृढतापूर्वक समर्थन गर्दै आएको छ; र नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास एवं नागरिकको जीवनस्तर सुधारमा सक्रिय सहयोग पुर्याउँदै आएको छ।
हामी नेपालका सम्बन्धित निकायहरूलाई तपाईंले उल्लेख गर्नुभएको हल्लाको गम्भीर, गहन र विस्तृत छानबिन गर्न तथा यसमा प्रत्यक्ष संलग्न र यसको पछाडि रहेकाहरूलाई नेपाली कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गर्दछौँ। हामी हाम्रा दुवै देशको साझा हितको रक्षाका लागि नेपाली पक्षसँग कानुन कार्यान्वयन र सुरक्षा सहयोगलाई अझ सुदृढ बनाउन तयार छौँ।
तर्क र विवेकले नै हल्लाको अन्त्य गर्दछ। हामीलाई विश्वास छ कि हाम्रा सम्पूर्ण नेपाली मित्रहरूले सही र गलत छुट्याउनुहुनेछ र चीन–नेपालबीचको परम्परागत मित्रता एवं सहयोगलाई प्रवर्द्धन गर्न हामीसँगै मिलेर योगदान पुर्याउनुहुनेछ।
.gif)

.png)

