मध्यपूर्वमा युद्धविरामको तयारी

९ देशका नेतासँग ट्रम्पले गरे संवाद, अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्न मस्यौदा तयार


२०८३ जेठ १० आइतबार १०:४८ बजे

काठमाडौँः अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यका लागि एउटा ठुलो राजनीतिक ब्रेकथ्रु हुने सङ्केत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्रिपक्षीय युद्ध रोक्ने समझदारी पत्रको मस्यौदा लगभग तयार भइसकेको र अब यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको खुलासा गरेका छन्। मध्यपूर्वका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग शृङ्खलाबद्ध टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘होर्मुज स्ट्रेट’ खुला गर्ने विषय यस सम्झौताको मुख्य हिस्सा हुने बताएका हुन्।

१० जेठमा सार्वजनिक यस विवरण अनुसार ट्रम्पले शनिबार कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका शीर्ष नेताहरूसँग मध्यपूर्वको तनावबारे गहन छलफल गरेका थिए। यसका साथै उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि छुट्टै संवाद गरेका थिए। ती कुराकानीपछि आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, 'सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे हाल छलफल भइरहेको छ, र यसलाई छिट्टै घोषणा गरिनेछ।'

यो कूटनीतिक प्रयासको अन्तर्राष्ट्रिय वृत्तमा स्वागत र प्रतिक्रिया आउन थालेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले मध्यपूर्वमा शान्ति स्थापनाका लागि आफ्नो देशले मध्यस्थताको प्रयास जारी राख्ने उल्लेख गर्दै निकट भविष्यमै अमेरिका–इरान वार्ताको आतिथ्यता गर्ने इच्छा देखाएका छन्। त्यस्तै, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले वार्तामा भएको प्रगतिप्रति खुसी व्यक्त गर्दै सम्झौताले होर्मुज स्ट्रेटमा विश्वव्यापी आवतजावत पुनः सहज बनाउने विश्वास राखेका छन्। इजिप्टको राष्ट्रपतिको कार्यालयले पनि सबै पक्षलाई यो कूटनीतिक वातावरणको सदुपयोग गर्दै निकास निकाल्न अपिल गरेको छ।

यद्यपि, सम्झौताका सर्तहरूलाई लिएर वासिङ्टन र तेहरानबीच अझै पनि दाबी–प्रतिदाबीको विरोधाभासपूर्ण अवस्था छ। अमेरिकी अधिकारीहरूका अनुसार इरानले आफ्नो उच्च संवर्धित युरेनियमको भण्डार नष्ट गर्न मञ्जुर गरेको छ, जसको प्राविधिक मोडालिटी आगामी आणविक वार्ताले तय गर्नेछ। तर, तीन जना वरिष्ठ इरानी अधिकारीहरूले दिएको जानकारी अनुसार यो सम्झौतामा आणविक कार्यक्रमबारे केही उल्लेख छैन र त्यसबारे आगामी ३० देखि ६० दिनभित्र छुट्टै वार्ता हुनेछ। इरानी अधिकारीहरूले दाबी गरे अनुसार सम्झौता भएमा लेबनानसहितका सबै मोर्चामा युद्ध रोकिनेछ, विना कुनै शुल्क होर्मुज स्ट्रेट खुल्नेछ, अमेरिकी नौसैनिक नाकाबन्दी हट्नेछ र विदेशमा रोक्का रहेको इरानको २५ अर्ब डलर सम्पत्ति फुकुवा हुनेछ।

यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले पनि समझदारी पत्रको मस्यौदा लेखन अन्तिम चरणमा पुगेको पुष्टि गरेका थिए। विशेषगरी पाकिस्तानी सेना प्रमुख असिम मुनिरले शनिबार इरानको छोटो तर अर्थपूर्ण भ्रमण गरेर फर्किएलगत्तै ट्रम्पको यो सकारात्मक बयान आएको हो। यसअघि ट्रम्पले खाडी मुलुकहरूको अनुरोधमा मात्र इरानमाथिको सैन्य आक्रमण रोकेको भन्दै कडा चेतावनी दिएका थिए। उनले कहिले वार्ता सफल हुन लागेको दाबी गर्ने त कहिले अमेरिकी झन्डाले बेरिएको इरानको नक्सा राखेर धम्काउने दोहोरो नीति लिँदै आएका थिए।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको थियो, जुन अप्रिल ८ यता केही मत्थर भएको छ। हाल अमेरिकाले इरानी बन्दरगाहहरू ठप्प पारेको छ भने बदलामा इरानले विश्व ऊर्जा ढुवानीको मेरुदण्ड मानिने होर्मुज स्ट्रेट बन्द गरिदिएको छ। इरानको परमाणु कार्यक्रम, सेनाको उपस्थिति र रोक्का सम्पत्ति मुख्य विवादका रूपमा रहँदै गर्दा अमेरिकाभित्रै यसको विरोध पनि सुरु भएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले यो सम्झौताप्रति गम्भीर असहमति जनाउँदै ट्रम्पलाई आफ्नो पुरानो 'रेड लाइन' (कडा अडान) बाट पछि नलग्न चेतावनी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७