फिर्केखोला अतिक्रमण: तीन ठाउँबाट सुरु भयो संरचना भत्काउने अभियान

फेवाताल जोगाउन पोखरा महानगरको ठुलो कदम


२०८३ जेठ १० आइतबार ०९:३३ बजे

काठमाडौँः  पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघर (मिचेर बनाइएका) क्षेत्र खाली गराउने ठुलो अभियान आजदेखि आरम्भ गरेको छ।

सार्वजनिक जमिन अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचनाहरू हटाउन महानगरले दिएको ३५ दिने समयसीमा शनिबार सकिएसँगै आज आइतबारदेखि डोजर चलाउन सुरु गरिएको हो। महानगरपालिकाले गत वैशाख ३ गते नै सूचना जारी गरी खोलाघर खाली गर्न आह्वान गरेको थियो भने २०८० साल असारमा गरिएको प्राविधिक नापजाँच र सीमास्तम्भ (पिल्लर) को परिधिभित्र पर्ने सबै भौतिक संरचना भत्काइने महानगरले स्पष्ट पारेको छ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार यो अभियानलाई व्यवस्थित बनाउन आजदेखि एकैसाथ तीनवटा मुख्य स्थानहरूबाट संरचना हटाउने कार्य अगाडि बढाइएको छ। पहिलो टोलीले पोखरा–२ र १८ को सिमाना पर्ने अँधेरिकुनाबाट सुरु गरी वडा नम्बर ४ तर्फ, दोस्रो टोलीले पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरबाट सुरु गरी वडा नम्बर ५ र ८ तर्फ, तथा तेस्रो टोलीले पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फको क्षेत्रमा डोजर चलाउने तयारी गरेका छन्।

यो अभियानको प्रत्यक्ष कमाण्ड सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूले सम्हालेका छन्। महानगरको कडा कदमपछि लायन्स क्लब र फोटोग्राफर सङ्घलगायतका केही संस्थाहरूले आफ्ना सामान सारिसकेका छन्।

महानगरको प्राविधिक नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि हालसम्म साना–ठुला गरी कुल १६० वटा संरचना अवैध रूपमा निर्माण भएका छन्। जसमा खोला नै मिचेर बनाइएका ९७ वटा अस्थायी र ३५ वटा स्थायी व्यक्तिगत संरचना छन् भने खोलामाथि नै १० वटा अस्थायी र १८ वटा स्थायी संस्थागत संरचना ठडिएका छन्।

पोखराका वडा नम्बर १८, २, ४, ५, ७, ८, ६ र १७ हुँदै आठ किलोमिटर बगेर फेवातालमा मिसिने फिर्केखोलाको चौडाइ न्यूनतम ३.३० मिटरदेखि अधिकतम ४० मिटरसम्म रहेको छ। यसअघि गरिएको नापजाँचका क्रममा खोलाघर सुरक्षित गर्न पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा पिल्लर गाडिएका थिए। महानगरपालिकाले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यीकरणको यो वृहत् अभियानलाई सफल पार्न नागरिक समाज, सुरक्षा निकाय, आमा समूह र सम्पूर्ण नगरवासीलाई हातेमालो गर्न हार्दिक अपिल समेत गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७