भाटभटेनीको निम्तोमा नेपाल यात्रामा आएका जगद्गुरु शंकराचार्यलाई राजकीय सम्मान
कडा सुरक्षाको बीच १४ जेठसम्म ‘धर्म विजय यात्रा’ मा सहभागी हुँदै
काठमाडौँ : भाटभटेनी सुपरस्टोर्सका मालिक मीनबहादुर गुरुङको निमन्त्रणामा जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् शुक्रबारदेखि ‘धर्म विजय यात्रा’मा छन् । शुक्रबार यति एअरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत् काठमाडौँ आएका जगद्गुरु शंकराचार्य जेठ ९ देखि १४ गतेसम्म नेपालमा रहनेछन् । जगद्गुरु शंकराचार्यलाई विमानस्थलमा स्वागतदेखि सवारीसम्ममा राजकीय सम्मान दिइएको छ ।
चार्टर्ड जहाजमार्फत् काठमाडौँ आइपुगेका शंकराचार्यलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, धार्मिक गुरु, पञ्चकन्यालगायतले स्वागत गरेका थिए । उनलाई स्वागतका लागि सुरक्षाका उच्च अधिकारी पनि पुगेका थिए । कडा सुरक्षाको बीच जगद्गुरु शंकराचार्य त्यसलगत्तै काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए । त्यस क्रममा नेपाली सेनाको एक टुकडीले राजकीय स्वागत गरेको थियो ।
शनिबार उनले काठमाडौँको बूढानीलकण्ठमा निर्माण भएको बाल अस्पताल किओचको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरे । गुरुङले अस्पतालको साँचो जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीमार्फत् अस्पतालका अध्यक्ष डा. कोइरालालाई हस्तान्तरण गरेका हुन् । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले व्यक्तिगत ७१ करोडमा उक्त अस्पताल भवन निर्माण गरिदिएका हुन् । मीनबहादुर गुरुङले गरेको दानका कारण नेपालका बालबालिकाको उपचारमा सहयोग पुगेको भन्दै आगामी दिनमा पनि यो सामर्थ्य भगवानले प्रदान गर्ने विश्वास जगद्गुरु भारतीको रहेको छ ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बनेको यो अस्पताल भारतमा बनेको ताजमहल जत्तिकै महत्त्वको रहेको बताउँदै भनिन्, “जगद्गुरुको कृपाबाट पनि आशीर्वाद पनि छ । उहाँका पूर्वजबाट पनि यो संस्थाले आशीर्वाद पायो । यो अटल हुन्छ । यसले उद्देश्य पूरा गर्छ भन्नेमा म विश्वस्त छु । मीनबहादुरजीलाई जगद्गुरुले तिम्रो मन खुलिरहोस् भनेर आशीर्वाद दिनुभएको छ । त्यो आशीर्वाद पूरा हुनेछ ।” त्यसअघि जगद्गुरु शंकराचार्य काठमाडौँको नक्सालस्थित भाटभटेनीको कार्यक्रममा सहभागी भए ।
शंकराचार्यलाई चाँदीको थाल, गिलास, कचौरा, चम्चा मीनबहादुर गुरुङले दिने कार्यक्रम छ । भाटभटेनीका सञ्चालक गुरुङले बोलाएको भए पनि शंकराचार्यको लागि बस्ने व्यवस्था भने आनन्द पशुपति परिसरस्थित आनन्द बतासको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा मिलाइएको छ ।
.gif)

.png)


